जनकपुरधाम- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट अर्थात राष्ट्रिय गौरवको आयोजना’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।
भारतको जयनगर देखि जनकपुर कुर्था हुँदै बिजलपुरा आउने रेललाई बर्दिबाससम्म ल्याउने तयारी भइरहेको मन्त्री दाहालले बताए ।
धनुषाको मिथिला नगरपालिका १० लालगढमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले बिजलपुरा देखि बर्दिबाससम्म भारतीय अनुदानमा बन्ने भौतिक संचनाको काम जग्गा अधिग्रहण हुन नसक्दा समयमा निर्माण हुन ढिला भएको बताए। उनले लालपुर्जा नभई ऐलानी जग्गामा बसोबास गर्नेहरुले मुआब्जा माग्दै जग्गा खालि नगर्दा बर्दिबासमा बन्ने रेल्वे स्टेसनको काम अगाडि बढन समस्या उत्पन्न भएको बताए।
मन्त्री दाहालले भने , ’जग्गाको यथार्त म आफैं गएर बुझेँ, त्यहाँ बस्ने मान्छेको नाममा जग्गा नै छैन । जग्गाको लालपुर्जा नहुँदा मुआब्जा दिन समस्या भएको हो । लालपुर्जा भएको जग्गाको मूल्यअनुसार ऐलानी जग्गाको मुआब्जा दिन मिल्दैन ।’
उनले मुआब्जा दिन नसके पनि जोतभोग गर्दै आएका व्यक्ति जग्गा खाली गर्न सहमत भए क्षतिपूर्ति दिन सकिने बताए। मुआब्जा अडान लिँदा बर्दिबाससम्म रेल ल्याउने भौतिक संरचना बनाउन समस्या भएको मन्त्री दाहालको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले पनि मुआब्जा दिने कुनै आधार नभएको बताएका कारण समस्या भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कमला पुल तयार गरी हुलाकी सडक सञ्चालन गर्ने सरकारको प्राथमिकता रहेको बताए।
‘हुलाकी राजमार्ग सञ्चालन गर्न केही अवरोधहरू छ,’ मन्त्री दाहालले भने, ‘हुलाकी सडक अर्न्तगत धनुषा-सिरहा जोडने कमला पुल नबन्द समस्या भएको छ । समस्या मन्त्रालयलाई थाहा छ । समस्या कसरी समाधान गर्ने विषयमा स्थलगत अनुगमन गरी निकास खोज्न आएका छौ ।’ उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हुलाकी सडक सहज रुपमा सञ्चालन गर्न केन्द्रित रहेको बताए ।
त्यसैगरी मन्त्री दाहालले धनुषा र सिरहा जोड्ने कमला नदीमा रहेको पुरानो पुललाई मर्मत गर्ने की नया पुल बनाउने विषयमा प्रविधिकहरूले अध्ययन गरिरहेको जानकारी दिए ।
‘पुलमा राज्यको लगानी भइसकेको छ,’ मन्त्री दाहालले भने, ‘प्राविधिक रुपले परीक्षण गरी पुल मर्मत हुने भए मर्मत गर्ने र नहुने भए विकल्प तर्फ अगाडि बढ्ने हो । हचुवाको भरमा मर्मत र नयाँ बनाउने काम हुँदैन ।’ २४ लाखको लागतमा बन्ने पुल सञ्चालन गर्न दुई किलोमिटरसम्म पक्की बाँध बनाउन ७० करोड लगात लगाउने अध्ययन गरिएको उनले बताए।
पत्रकार सम्मेलनमा हुलाकी सडक जनकपुरका प्रमुख कृष्ण महतोले कमलामा भत्केको पुल मर्मत गरी प्रयोगमा ल्याउन सक्ने जानकारी दिए । ‘प्राविधिकहरूले सम्पूणर् रुपले कमला पुल मर्मत गरी प्रयोगमा ल्याउन सकिने बताएका छन्,’ महतोले भने, ‘पुल मर्मत गरी नदीमा बाँध बाध्नु पर्छ । बाँधले ३ सय बिगाह भन्दा बढी जग्गा प्रयोगमा समेत ल्याउन सकिन्छ ।’ नयाँ पुल १८ सय मिटरको बनाउँदा ५ अर्ब भन्दा बढी लगानी लाग्ने महतोले जानकारी दिए ।
पत्रकार सम्मेलनमा मन्त्री दाहालले दसैं तिहार लक्षित गरेर सडकलाई सहज बनाउने अभियान थालिएको बताए। दुई साता भित्र निर्माण भइरहेको सडकहरूमा सहज रुपमा आवतजावत गर्न सक्ने बनाउन निर्माण कम्पनीहरूलाई निर्देशन दिइएको उहाँले जानकारी दिए ।सडकमा आवागमनको चापलाई ध्यानमा राखेर खाल्डाखुल्डी मुक्त सडक बनाउन र निर्माणको क्रममा बिग्रेका सडकलाई तत्काल मर्मत गरी आवतजावत सहज बनाउने काम अगाडि बढाइएको मन्त्री दाहालले बताए।
मन्त्री दाहाल जनकपुर रेल र कमला पुलको स्थलगत अनुगमन गर्न प्राविधिक सहित धनुषा आएका हुन् ।







