जनकपुरधाम-राम जानकी विवाहमहोत्सवको मुख्य दिन स्वयम्वर सम्पन्न भएको छ । शुक्रबार रंगभूमि मैदान (बाह्रविघा)मा स्वयम्बर कार्यक्रम सम्पन्न भएको छ । मेला, महोत्सव हेर्न जनकपुरधाममा लाखौंको भीड उर्लिएको छ । मेला भर्न नेपाल र भारतको विभिन्न स्थानबाट श्रद्धालुहरु जनकपुरधाम आएका छन् । आज राम मन्दिर र जानकी मन्दिरबाट डोला निकाली रंगभूमि मैदान बाह्रविघामा गएर स्वयंवर कार्यक्रमको आयोजना गरिएको हो । स्वयंबर हुनु अघि शोभायात्रा निकालिएको छ ।

जानकी मन्दिरबाट जानकीको तथा राम मन्दिरबाट रामको डोला (डोली) बाजागाजा सहित शोभायात्रा सुरु गरिएको थियो । नेपाली सेनाको सांगीतिक टोलीले मंगलध्वनी बजाउँदै शोभा यात्रामा सहभागी हुँदा हजारौं श्रद्धालुहरुले जयजयकार गर्दै थिए । शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाई गरिएको थियो ।




सर्वसाधारणले सडक पेटी र आ-आफ्ना घरको कौसीबाट शोभायात्रा हेर्न झुम्मिएका थिए । शोभायात्राको भिड नियन्त्रण गर्न सुरक्षाकर्मी तथा स्वयंसेवकहरुलाई हम्मे हम्मे परेको थियो । आज राती जानकी मन्दिरको परिसरमा निर्माण भएको आकर्षक विवाह मण्डपमा मिथिला परम्पराअनुसार भगवान् श्रीराम तथा माता सीताको प्रतिकात्मक विवाह हुने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

र भोली रामकलेवा भएसँगै विधिवत रुपमा विवाहपञ्चमी सम्पन्न हुनेछ । त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पञ्चमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुँदै आएको छ । तत्कालीन मिथिलाका राजा जनकले गर्नु भएको प्रतिज्ञा अनुसार अयोध्याका नरेश राजा दशरथका ज्येष्ठ सुपुत्र भगवान् श्रीरामले भगवान् शिवको पीनाक धनुषमा प्रत्यञ्चा चढाउँदा तीन टुक्रा भएको थियो ।

धनुषमा प्रत्यञ्चा चढाएपछि मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको शुभ विवाह आजैको पावन तिथिमा माता सीतासँग सम्पन्न भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाह पञ्चमी महामहोत्सव सप्ताहव्यापी रुपमा मनाउने चलन रहेको छ ।





