महोत्तरी- महाेत्तरीकाे रामगोपालपुर नगरपालिका–९ स्थित गोठबनौलीमा रहेको श्री दोरिक जनता आधारभूत विद्यालयमा चार कोठे दुई तले पक्की भवनको शिलान्यास भव्य रुपमा सम्पन्न गरिएको छ ।
विद्यालयको शैक्षिक पूर्वाधार अभावलाई ध्यानमा राखी रतौली युवा क्लब, महोत्तरी र ActionAid International Nepal को साझेदारीमा तथा रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत उक्त भवन निर्माण प्रक्रिया थालिएको हो ।

शिलान्यास कार्यक्रमको समारोह
शिलान्यास समारोहमा रामगोपालपुर नगरपालिकाका नगरप्रमुख रामदुलार साहकाे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरी, वडा नं. ९ का वडा अध्यक्ष नागेश्वर प्रसाद मण्डल, विद्यालय व्यवस्थापन समिति, भवन निर्माण समिति, शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय अगुवा, समाजसेवी तथा क्लबका कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
उक्त भवनको अनुमानित लागत रु ७३,९३००० रहेको छ भने निर्माण कार्य २०८२ मङ्सिर मसान्तभित्र सम्पन्न गर्ने योजना रहेको छ ।
नगरप्रमुख साहले कार्यक्रममा बोल्दै भने, “शिक्षा गुणस्तरीय बनाउन भौतिक पूर्वाधारको विकास आवश्यक छ । विद्यालयमा भवन निर्माण भएसँगै सिकाइको गुणस्तर सुधार हुने विश्वास लिएको छु ।” कार्यकारी निर्देशक चौधरीले भवन निर्माणले शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गर्दै स्थानीयको निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।

शैक्षिक वातावरणमा सुधारको आशा
वर्षौंदेखि सीमित कोठामा सञ्चालित कक्षा, असहज बसोबास र कमजोर पूर्वाधारका कारण विद्यार्थी तथा शिक्षकले सिकाइमा कठिनाइ भोग्दै आएका थिए। नयाँ भवन निर्माणपछि विद्यार्थीहरूका लागि सुरक्षित, सुलभ र प्रेरणादायी शैक्षिक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।
यस पहलले गोठबनौली क्षेत्रका बालबालिकाहरूको शैक्षिक यात्रा अझ प्रभावकारी, सहज र उज्यालो बनाउने विश्वास राखिएको छ ।


