सन्तोष सिंह,महोत्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गौशाला नगरपालिकाको कागजताहरु नियन्त्रणमा लिएको छ । आयोगको टोली गौशाला पुगेर अनुसनधानका लागि आवश्यक कागजातहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ ।
आइतबार साँझ आयोगको टोलीले गौशाला नगरपालिका पुगेर चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुको सक्कल कागजातहरु नियन्त्रणमा लिएर गएको गौशाला नगरपालिकाका कर्मचारीले बताए । साँझ ५ बाजे कार्यालय पुगेका टोलीले ८ बजेसम्म कर्मचारीहरुसँग सोधखोज गर्दै योजनाका सक्कल कागजात नियन्त्रणमा लिएको हो ।



गौशाला बहुमुखी क्याम्पसलाई दिएको अनुदान, गौशाला बजार ठेक्का, वडाहरुमा सञ्चालन भएको तालिम, खेलकुद, सडक निर्माण र उपभोक्ता समितिमार्फत भएको निर्माण कार्यको फाइलहरु आयोगको टोलीले लगेको गौशाला नगरपालिकाका कर्मचारीले बताए ।
गौशाला नगरपालिकामा नगर प्रमुख डा.दिपेन्द्र महतो र उपप्रमुख रेणु कुमारी बीचको विवाद छ । उपप्रमुख महतोले यसअघि नगरपालिकाका दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिएर अख्तियारको कार्यालयमा बुझाएका थिए । दर्ता चलानी पुस्तिका नियन्त्रणमा लिएपछि उपप्रमुख महतोको कार्यकक्षमा नगर प्रमुख डा.महतोले ताला लगाइदिएका छन् ।




