सप्तरी – आफूहरूमाथि कुटपिट भएको भन्दै सप्तरीको शम्भुनाथ नगरपालिकाका कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग गरेका छन् ।
मिलेमतोमा अग्रिम कमिसन उठाएका उपभोक्ताका फाइलहरू लेखा शाखामा चाँडै नपठाएको भन्दै निलम्बित मेयर जितेन्द्र गुप्ता र कार्यवाहक मेयर अनिता चौधरीका सल्लाकार अनिल भगतले आफूहरूमाथि कुटपिट गरेको भन्दै कर्मचारीहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहालसमक्ष ज्ञापन पत्र बुझाउँदै सुरक्षा माग गरेका हुन् ।



एक कर्मचारीका अनुसार चालु आर्थिक वर्षको भुक्तानी गर्ने अन्तिम दिन बुधबार उनीहरूमाथि केही कर्मचारीहरूमाथि कुकटपीट भएको हो ।
ज्ञापन पत्रमा गुप्ता र भगतले प्राविधिकहरू सुनिल यादव, विनोद कुमार यादव, मनोज कुमार चौधरी, आइटी इन्जिनियर मो. तमन्ना र चालक हरि भगतलाई कुटपिट गरेको दाबी गरिएको छ ।
यता कुटपिटपछि त्रसित बनेका कर्मचारीहरूले आफूहरूको सुरक्षा व्यवस्था नमिलाईए र दोषीमाथि कारबाही नगरिए नगरपालिकामा काम गर्न नसक्ने बताएका छन् ।
उनीहरूले आजै हाम्रो माग सम्बोधन नभए भोलीदेखि संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी भोला दाहालले कर्मचारीहरूले काम गर्ने वातावरण मिलाई दिन आग्रह गरेको पत्र आफूकहाँ पुगेको बताएका छन् ।
घटनाबारे थप बुझ्ने काम भइरहेको प्रजिअ दाहालले बताएका छन् ।





