महोत्तरी। लामो खडेरीले कतै धान रोपाइँ नभइरहेका बेला महोत्तरीको भङ्गाहा–४ रामनगरको शिरानटोलमा रोपाइँ सकिएको छ। बभनटोली पनि भनिने शिरानटोलका स्थानीयले आपसी हेलमेलमार्फत डिपबोरिङको पानीबाट रोपाइँ गरेका हुन् ।
यहाँका स्थानीय एवं नेपाल सरकारका अवकास प्राप्त सहसचिव काशीराज दाहालको अगुवाइमा ३० परिवारको खेती समयमा लगाइएको हो । करिब ३० जना किसानको ६० बिघा जग्गामा रोपाइँ सकिएको उनले जानकारी दिए ।



चारैतिर पानीको हाहाकार परेका बेला टोलबासीलाई एकत्रित गरी बोरिङ जडान गरेसँगै खेतीमा सबैको सहभागिता जुटाउँदै साउन १५ भित्रै रोपाइँ सकिएको उनले बताए । “गाउँका मानिसलाई सम्झाउन सक्ने हो भने सहयोग सजिलै पाइन्छ । बोरिङ जडानदेखि सबैको खेती पालोपर्म मिलाएर समयमा लगाउन सकियो”, दाहालले भने, “आपसी हेलमेलको यो थिति बसाउन सके खेतीपाती निकै सहज बन्ने अनुभव सँगालियो ।” टोलका सबैजना बीउ काढ्ने, रोप्ने काममा लाग्दा १५ दिनभित्र ६० बिघा खेत रोपिएको उनको भनाइ छ ।

आपसी हेलमेलले सबैको काममा लाग्ने पालो मिलाइँदा खेती कम खर्चिलो भएको किसानको अनुभव छ । “हामी जन ९श्रमिक० पाइएन भन्थ्यौँ, सबै कुरा हामीभित्रै रहेछ”, किसान अरुण गिरीले भने, ‘‘सिडियो साब’ (गाउँले दाहाललाई सिडियो साब सम्बोधन गर्छन्) ले नेतृत्व गरी हामीलाई जुटाउनुभयो । पानीको हाहाकार परेका बेला पनि हामीले साउन १५ अघि रोपाइँ सक्यौँं ।”
सामूहिक श्रमथिति बसाल्नसके श्रमिकको अभाव महसुस नहुने गिरीको भनाइ छ । गत वर्षको जेठमा सरकारी सेवाबाट अवकास पाएपछि गाउँ आएका दाहालले सिँचाइको प्रबन्धका लागि पहिलो प्रयत्न थाले । एकपछि अर्को काममा सबैको सहभागिता जुटाउँदै अघि बढेसँगै सहयोगी भाव र समन्वयको संस्कृति सुदृढ हुँदै गएको टोलबासीको अनुभव छ ।
“पछिल्लो एक वर्ष हाम्रो खेतीपाती मात्र नभएर पारिवारिक काम पनि सहजै पार लागिरहेका छन्”, स्थानीय रामभगत महतोले भने, “एकजना बाटो देखाउने चाहिने रहेछ, हाम्रो पछिल्लो एक वर्ष अत्यन्त उत्साहप्रद रह्यो ।” दाहालको निरन्तरको प्रयासले सबै मिलेर काम गर्ने वातावरण बनेको उनले बताए ।
यहाँ ब्राह्मण, क्षत्री, नेवार, थारु, घर्ती, कोइरी, विन (मलाह), चमार, कामीसहित इस्लाम धर्मावलम्बीको बसोबास छ । ‘सबैको काममा सबै’ भन्ने मान्यतालाई मनन गरेर लाग्दा काम सहज हुनुका साथै छिटो सम्पादन हुने महतोको अनुभव छ ।
“सरकारी सेवामा रहँदा कतिपय समयमा कृषि मन्त्रालयमा पनि काम गरेकाले जनसम्पर्कबाट सँगालेको अनुभव अवकासपछि व्यवहारमा लगाउँदै छु”, दाहालले भने । सरकारी सेवामा रहँदाको अनुभवलाई अवकासपछिको जीवनमा आफ्नै बस्तीमा लगाउन पाउँदा सकारात्मक परिणाम आउने उहाँले विश्वास व्यक्त गरे ।
“कतिपय साथीलाई ‘कुलिङ् पिरियड’ ले तनाब दिइरहेको देख्छु”, दाहालले भने, “जागिरे जीवनमा जे सँगालिएको छ, अवकासपछि सबैले आ–आफ्नो ठाउँमा लगाउने हो, भने निकै उपलब्धि हासिल हुनसक्छ ।” आफूले खेतीपाती मात्र नभएर टोल, बस्तीका गरिब परिवारका छोराछोरी पढाउन, स्वास्थ्य सचेतना बढाउन र पढेलेखेका युवालाई प्रतिस्पर्धामा उत्कृष्ट बन्न पनि अभिप्रेरित गरिरहेको उनले उल्लेख गरे ।
रामनगर बस्तीमा सिँचाइबिना रोपाँइ नभइरहेका बेला यो टोलमा सकिएको छ । बभनटोलीले बसाएका यो थिति सबैले अनुशरण गरे खेती गर्न सजिलो हुने भङ्गाहाका नगरप्रमुख सञ्जीवकुमार साहले बताए । “कतिपय किसानले सिँचाइ, श्रमिक अभाव देखाउँदै खेत बाँझो राखिरहेका छन्”, साहले भने, “यहाँ भने रोपाइँ सकियो ।” मिलेर काम गर्दा सजिलो हुनुका साथै उत्पादन पनि प्रशस्त हुने उनको भनाइ छ ।
“सिँचाइ, कृषि, सडक र समयमा मलबीउको समस्या आएमा सिडियोसाबले समन्वय गर्नुहुन्छ । उहाँको अगुवाइमा ठाउँठाउँबाट सहयोग पाइएका छौँ”, गुलाब महतोले भने, “उहाँ आफैँ पनि बीउ काढ्न, रोप्न लाग्नुहुन्छ । यसले हामीलाई मिलेर काम गर्न हौसला दिएको छ ।”
सबै कर्मचारीले अवकासपछि यसैगरी काममा लागे मुलुकको समृद्धि हासिल हुन बेर नलाग्ने भङ्गाहा–४ का पूर्ववडाध्यक्ष वृदेवसिंह दनुवारले बताए । “ दाहाललाई अचेल वरपरका जान्नेसुन्नेले ‘खेती र कृषकका लागि रोलमोडल’ भन्ने गरेका छन् । यो उनको निरन्तर प्रयासका कारण स्थापित बनेको नयाँ पहिचान हो”, उनले भने ।




