अजय कुमार साह,जनकपुरधाम-
घरजग्गा किनबेच सामान्य मानिन्छ, तर गाउँ नै किनबेच हुन्छ भन्ने कुरा धेरैका लागि अचम्म लाग्न सक्छ। मधेसका डोम (डुम) समुदायमा भने यस्तो परम्परा पुस्तौँदेखि चल्दै आएको छ, जसले उनीहरूको जीविकोपार्जन मात्र होइन, सामाजिक संरचनासमेत परिभाषित गरेको छ। दलितभित्रकै अति पिछडिएको महादलित भनेर चिनिने डोम समुदायमा ‘गाउँ किन्ने’ अभ्यास आज पनि जीवित छ। यो परम्पराअनुसार कुनै व्यक्तिले निश्चित रकम तिरेर एउटा गाउँ ‘किन्छ’ र त्यस गाउँभित्र हुने विशेष प्रकारका आर्थिक गतिविधिमा एकाधिकार प्राप्त गर्छ।




क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ बस्ने पल्टु मलिकले आठ महिना अगाडि राम बहादुर मलिकबाट २५ हजार रुपैयाँमा हरिहरपुर गाउँ किनेको छ । करिब पाँच हजार जनसङ्ख्या रहेको हरिहरपुर गाउँमा मलिकले मात्र बाँसबाट निर्मित ढाकी, नाङ्लो, कोनियाँ, पङ्ख्या लगायतका सामान बिक्री गर्ने अधिकार पाएका छन् । “मैले किनेको गाउँमा विवाह, भोज, मृत्यु वा पूजापाठ जस्ता कार्यक्रम हुँदा आवश्यक पर्ने सामग्री बेच्ने र दक्षिणा लिने अधिकार पनि मेरै हुन्छ,” पल्टु मलिक भन्छन्। यो व्यवस्था अनुसार बाहिरी डोम समुदायका व्यक्ति आएर त्यहाँ व्यापार गर्न पाउँदैनन्। यदि कसैले नियम उल्लंघन गरे, समुदायले तोकेको जरिवाना तिर्नुपर्छ। रोचक पक्ष के छ भने यस्तो जरिवाना प्रायः सुँगुर काटेर पूरै समुदायलाई भोज खुवाउने स्वरूपमा तोकिन्छ। स्थानीय भुल्लीदेवी मलिकका अनुसार यो परम्परा कहिलेदेखि सुरु भयो भन्ने यकिन प्रमाण नभए पनि बाजेबराजुको पालादेखि नै चल्दै आएको विश्वास गरिन्छ।

“जसरी जग्गा किनबेच गर्दा कानुनी प्रक्रिया पूरा गरिन्छ, गाउँ किनबेच गर्दा पनि कागजी प्रक्रिया मिलाइन्छ,” उनी भन्छिन्। गाउँ किन्ने व्यक्तिको आम्दानीको मुख्य स्रोत भनेकै यस्ता परम्परागत अधिकार हुन्, बाँसका सामग्री बिक्री, भोजभतेरमा जुठोभाडा वर्तन माझ्ने, सरसफाइ गर्ने, विवाह, मृत्यु संस्कारसँग जोडिएको दक्षिणा आदी प्राप्त गर्ने हो। तर आर्थिक अवस्था कमजोर हुँदा कतिपयले किनेको गाउँ फेरि अरूलाई बेच्ने गरेका उदाहरण पनि छन्। धनुषा जिल्लामा मात्रै करिब दुई हजारको हाराहारीमा डोम समुदायको बसोबास रहेको अनुमान छ। उनीहरूले एकदेखि तीनवटासम्म गाउँ किन्ने अभ्यास देखिन्छ। डोम समुदायको परम्परागत पेशा बाँसका सामग्री बनाउने, सुँगुर पालन गर्ने तथा मसान घाटमा अन्त्येष्टि कार्यसँग सम्बन्धित छ।
मधेसमा अन्त्येष्टिका लागि आवश्यक ‘दागबत्ती दिनको लागि आगो डोम समुदायबाटै खरिद गर्नु पर्ने चलन अझै प्रचलित छ, जसले उनीहरूको सांस्कृतिक भूमिकालाई पनि देखाउँछ। कानुनी र संवैधानिक पाटो भन्दा फरक परम्परा नेपालको संविधानले प्रत्येक नागरिकलाई देशको जुनसुकै स्थानमा बसोबास गर्न, पेशा गर्न र व्यापार–व्यवसाय सञ्चालन गर्न स्वतन्त्रता दिएको छ। यस्तो अवस्थामा ‘गाउँ किनेर एकाधिकार कायम गर्ने’ परम्परा कानुनी रूपमा अवैध देखिन्छ। यस्तो कार्यलाई कानुनी कुनै किसिमको मान्यता पाउने अवस्था देखिँदैन। क्षीरेश्वरनाथ नगरपालिका वडा नं ७ हरिहरपुरका वडा अध्यक्ष मोहम्म मोबारक कबाडी नथुनिको अनुसार, यस्तो प्रकारको ‘गाउँ किनबेच’ सम्बन्धी कागजातहरू औपचारिक रूपमा वडा कार्यालय वा मालपोत कार्यालयमा दर्ता हुँदैन।

“यो डोम समुदायभित्रको सहमतिमा आधारित अनौपचारिक उनिहरुको परम्परागत अभ्यास हो, राज्यले वा कुनै पनि स्थानीय सरकार÷पालिकाले वा कानुनले यसलाई वैधानिक रूपमा मान्यता दिएको छैन,” वडा अध्यक्ष कबाडीले बताए। कानुनविद्हरू भने यो प्रथाले संविधानले दिएको पेशा तथा व्यापार स्वतन्त्रताको मर्मको विपरीत रहेको बताउँछन्। अधिवक्ता सतीश लाल कर्णले भने, “कुनै क्षेत्र विशेषमा एक व्यक्तिलाई मात्र व्यापार गर्ने अधिकार दिनु प्रतिस्पर्धा र स्वतन्त्रताको सिद्धान्तविपरीत हो, यस्तो परम्परा वा अभ्यास सामाजिक रूपमा स्वीकृत भए पनि कानुनी हैसियत राख्दैन र कुनै पनि किसिमको कानुनी आधार यसले पाउँदैन।”अधिक्ता कर्णले परापुर्वकाल देखि डोम समुदायहरुले यसरी आफ्नो समुदाय भित्र यो चलन चलाएको हुँदा यसलाई यता खासै वास्ता पनि गरिदैन ।उनले आफूले यस्तो मामिला सम्बन्धी अहिले सम्म कुनै मुद्दा समेत कतै आएको नसुनेको बताए। यो परम्पराले फाइदा कि ऋण < डोम समुदायका लागि गाउँ किन्ने परम्परा आम्दानीको सुनिश्चित माध्यम जस्तो देखिए पनि यसको अर्को पाटो ऋणमा पर्ने पनि छ । कतिपयले ऋण लिएर गाउँ किन्ने गर्छन्, तर सोचे अनुसार काम गरेर आम्दानी गर्न नस्कदा ऋणको भार बढ्ने गरेको स्थानीयहरू बताउँछन्।

समाजशास्त्री नागेन्द्र दुबेको अनुसार कसै कसैले सोचे जस्तो आम्दानी गर्ने अवस्था नहुँदा, किनेको गाउँबाट पर्याप्त आम्दानी गर्न नसकेपछि घाटामा फेरी अर्कोलाई बेच्नुपर्ने अवस्था आउने गर्छ। उनले भने, “यसले समुदायलाई दीर्घकालीन रूपमा आर्थिक रूपमा सबल बनाउनुको सट्टा ऋणको चक्रमा पार्ने जोखिम पनि देखिन्छ।” नयाँ पुस्ताको युवाहरु के भन्छन् < डोम समुदायकै नयाँ पुस्ताका युवाहरुमा यो परम्पराबारे मिश्रित धारणा देखिन्छ। केही युवाहरू यसलाई आफ्नो जातीय पहिचान र परम्परागत पेशाको निरन्तरताका रूपमा हेर्छन् भने कतिले यसलाई बाध्यता र परम्पराको निरन्तरता मान्छन्। क्षीरेश्वरनाथ नगरपालिका ६ का एक युवा रामचरित्र मलिक भन्छन्, “अब पढेलेखेका केटाहरु वैदेशिक रोजगारमा साउदी ,मलेसिया र कतार जान्छन्। कति भारतको पंजाब आसाम जान्छन् र केहिले सुंगुर बंगुर पालेर बेच्ने व्यापार तर्फ लागिरहेका छन्। गाउँ किनेर बस्ने सोच घट्दै गएको छ।” तर अर्का एक युवा दिलिप मलिकको भनाइ छुट्टैछ उनले भने, “यो हाम्रो परम्परा हो, तर अहिलेको समयमा यसबाट मात्र जीवन धान्न गाह्रो छ।

यो परम्परालाई जिवित राख्दै अरु पनि कामहरु गर्ने गरेका छौ।” के भन्छन् स्थानियवासी गाउँ किनबेच हुने विषयमा अन्य समुदायका मानिसहरूमा पूर्णरुपमा जानकारी नहुने अवस्था पनि देखिन्छ भने कतिपय यसलाई सामान्य परम्पराका रूपमा स्वीकार गर्छन्, भने केहीले यसलाई खासै महत्व नदिएको बताउँछन्। क्षीरेश्वरनाथ नगरपालिका ७ फुलो देवीले भनिन्, “हामीलाई कसले गाउँ किनेको छ भन्ने थाहा पनि हुन्न, अब चाड पर्वको बेला जसले समान लिएर बेच्न गाउँ पसेको देख्छौं उसै संगै किन्छौ।” डोम समुदायको परम्परा बारे क्षीरेश्वरनाथ नगरपालिका ५ का जिवछ मण्डल भन्छन्, “डोम समुदायभित्रको यो परम्परा र नियमलाई सम्मान गर्नु पर्छ , तर गाउँमा को आएर सामान बेच्छन् त्यति वास्तै नहुने र सामान चाहिएको बेला खरिद गर्दै आएको छौं।”उनको अनुसार डोम समुदायमा आफै एक किसिमको आफ्नो परम्परा प्रति इमान्दारिता हुन्छ कि जसको जुन गाउँ हो त्यो गाउँमा अरु बाहिरकाले सामान बेच्न जाँदैनन् ।

उनिहरुको समुदाय भित्र कसको कुन गाउँ हो त्यो कुरा प्राय आफू भित्र जानकारी नै हुन्छ। के भन्छन् दलित अधिकार र मानव अधिकारकर्मीहरु दलित अधिकारकर्मीहरू यो प्रथालाई दुई तरिकाले हेर्छन्। एकातर्फ यसले डोम समुदायको परम्परागत पेशा र न्यूनतम आम्दानी सुनिश्चित गर्ने माध्यमका रूपमा काम गरेको छ। अर्कोतर्फ, यसले उनीहरूलाई सीमित पेशा र भूगोलमै बाँधेर राख्ने जोखिम पनि बोकेको छ। दलित अधिकारकर्मी बिनोद महरा भन्छन्, “यो परम्पराले उनीहरूको जीविकोपार्जन त जोगाएको छ, तर विकल्प र अवसर विस्तार गर्न भने रोकेको छ।” अधिकारकर्मी महराका अनुसार, राज्यले यस्तो समुदायलाई वैकल्पिक रोजगारी, शिक्षा र सीप विकासमा जोड दिनु आवश्यक छ, ताकि उनीहरू बाध्यताले होइन, रोजाइले पेशा चयन गर्न सकून्। मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था इन्सेकका मधेस प्रदेश संयोजक राजु पासवानले यो परम्परालाई डोम समुदायको पहिचान, अर्थोपार्जन, सम्पती र अस्तित्व संग जोडेर हर्नु पर्ने धारणा व्यक्त गरे। पासवान भन्छन्, “यो परम्परालाई व्यवस्थित बनाउनु पर्ने। डोम समुदायहरु जहाँ छन् तिनीहरु प्राय एलानी जग्गामा दुइ तीन धुर जग्गामा एक छाप्रो बनाएर बसेका हुन्छन् उनिहरुको आफ्नो जग्गा जमिन प्राय हुन्न तर उनीहरू संग त्यहि गाउँ हुन्छ जुन किनेका हुन्छन्। गाउँमा उनिहरुले आफ्नो समान बेचेर जीविकोपार्जन गर्ने गर्छन् ।
अनि आवश्यक परेको बेला जसरी अरुले जग्गा जमिन बेचेर काम चलाउँछन् उनिहरु पनि आफ्नो गाउँ बेचेर आवश्यक्ता टार्छन्।”उनले बरु अहिले बाँसको सामग्रीको ठाउँमा प्लास्टिक सामग्रीहरुको चलनले उनिहरुको पुर्खौली बरु संकटमा परेको बताए । नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार डोम समुदायको कुल जनसंख्या करिब १३ देखि १५ हजारको बीचमा रहेको अनुमान छ। यो समुदाय मुख्य रूपमा मधेस प्रदेशका धनुषा, महोत्तरी सप्तरी, सिराहा, सर्लाही र रौतहट जिल्लामा बढीजसो केन्द्रित रहेको देखिन्छन्।
यसरी हेर्दा परम्परा, पेशा र जीविकाबीच गहिरो सम्बन्ध बोकेको डोम समुदायको ‘गाउँ किनबेच’ अभ्यास आधुनिक समाजका लागि अनौठो लाग्न सक्छ, तर उनीहरूका लागि यो पहिचान र अस्तित्वसँग जोडिएको यथार्थ हो।-रातोपाटी




