जनकपुरधाम – मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीलाई तीव्रता दिएको छ । बजेटमा समावेश गर्नुपर्ने क्षेत्र र विषयबारे सरोकारवालासँग छलफल भइरहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले खर्च कटौती गर्दै जनअपेक्षित बजेट ल्याउने तयारी भइरहेको बताउनुभयो । मधेश प्रदेशको समृद्धिकोे मुख्य अधार कृषि, उद्योग र पर्यटनको दिगो विकास रहेको बताउँदै उहाँले प्रदेश सरकारले समग्र आर्थिक विकासका लागि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यव्रmमको तयारी भइरहेको बताउनुभयो । रोजगारी सिर्जना, नवप्रवर्तन र लगानीमैत्री वातावरण निर्माण गरिने किसिमले नीति तथा कार्यव्रmम ल्याएको र सोही अनुसार बजेटको तयारी भइरहेको उहाँले बताउनुभयो ।



मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आवको बजेटका विषयमा मधेश प्रदेश सभाका प्रदेश सभा सदस्यहरू, स्थानीय निकायका जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिसँग आवश्यक सुझाव लिने काम गरिएको बताउनुभयो । उहाँले आगामी आवको बजेटमा कृषि, सिँचाइ, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
अर्थमन्त्री भट्टराईले आगामी आवमा खुला प्रतिस्पर्धाबाट योजना सञ्चालनका साथै एक करोडभन्दा तलका योजना नराख्ने गरी काम भइरहेको बताउनुभयो । मन्त्रालयले पुसदेखि नै आगामी आवको बजेट तयारीका लागि बजेट क्यालेन्डर तयार गरेर काम गरिरहेको छ । मन्त्रालयले आयव्यय प्रक्षेपण, स्रोत समितिमार्फत स्रोतको खोजी गर्दै मन्त्रालयहरूलाई बजेट सिलिङ पठाउनेसम्मको काम गरिसकेको मधेश प्रदेश अर्थ मन्त्रालयका उपसचिव एवं प्रवक्ता जयकुमार राउतले बताउनुभयो । अर्थ मन्त्रालयको सूचनाप्रणालीमा आफ्नो मन्त्रालयका योजनाहरू दाखिला गर्न बुधबारसम्मको समय दिइएको छ । अर्थ मन्त्रालयले बिहीबारदेखि मन्त्रालयगत छलफल गर्ने तयारी गरेको छ ।
आगामी आवका लागि मधेश प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि विधेयकको सिद्धान्त र प्राथमिकता मधेश प्रदेश सभा सचिवालयमा पठाइसकेको प्रवक्ता राउतले बताउनुभयो ।




