विजयकुमार साह,ढल्केबर धनुषाको मिथिला नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाइ ढल्केबरका प्राविधिक टोलीले मङ्गलबार पानीको स्रोत चुरे क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । चुरेको पानी चुरे क्षेत्रमा रोकेर जमिनमुनि जल पुर्नभरण गर्ने उपाय खोज्नका लागि मिथिला नगरपालिकाभित्र पर्ने चुरे क्षेत्रको स्थलगत अवलोकन गरिएको हो ।
कार्यान्वयन इकाइका प्रमुख प्रेमीप्रसाद साहले खोलाबाट बगेर खेर गइरहेको पानीलाई जमिनमुनि जल पुर्नभरण गर्ने उपाय खोज्ने उद्देश्यले औहरी र बसही खोलाको मुहान क्षेत्रसम्म अवलोकन गरिएको बताउनुभयो । भौगोलिक र प्राविधिक दृष्टिले उपयुक्त स्थानमा चेक ड्याम निर्माण गर्न सकिने बताउँदै उहाँले यसका लागि वन मन्त्रालय र विज्ञ समूहको थप अध्ययन पश्चात निर्माण प्रक्रिया अघि बढाउने जानकारी दिनुभयो ।



उहाँले भन्नुभयो, “यस वर्ष लामो खडेरीका कारण तराईमा जमिनमुनिको पानी तल पुगेको छ । जसले गर्दा चापाकल, इनार र स्यालो ट्युबवेलबाट पानी आउन छाडेको छ ।” खेत सिँचाइमा पनि समस्या देखिएको छ । यदि चुरे क्षेत्रमा चेक ड्यामलगायतका संरचना निर्माण गरी बगेर जाने पानी रोक्न सकियो भने जमिनमुनि पुनर्भरण हुन्छ र भूमिगत पानीको सतह माथि आउने प्रमुख साहको भनाइ छ ।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले वर्षाको पानी चुरे क्षेत्रमा रोक्ने उपायका लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो । उहाँले पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै चुरेबाट उत्पती भएको खोलाहरुमा चेक ड्याम निर्माण गरेर बगरे खेर गइरहेको पानीलाई जमिनमुनि पठाउन सकियो भने अहिले देखिएको पानीको सङ्कटमा सुधार जानकारी दिनुभयो ।
कार्यान्वयन इकाइका प्राविधिक रामईश्वर साहले औरही खोलामा चार र बसही खोलाको दुई स्थानमा चेक ड्याम निर्माण गर्न प्रारम्भिक ठाउँ छनोट गरिएको बताउनुभयो । थप अध्ययन पश्चात भौगोलिक तथा प्राविधिक हिसाबले उचित हुने स्थानमा चेक ड्याम निर्माणका लागि प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दिनुभयो । वर्षाको पानी चुरे क्षेत्रमा रोक्नुको विकल्प नभएको बताउँदै यसले जमिनमुनि पानीको भण्डारण बढ्ने जानकारी दिनुभयो ।




