महोत्तरी – बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा औरही नगरपालिका–७ स्थित सोनामाई शक्तिपीठमा दर्शनार्थीहरूको ठूलो भीड लागेको छ। महोत्तरीको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेलाको पनि सुरुवात भएको छ।
दसैंको समयमा वर्षौंदेखि भूत मेलाका लागि चर्चित यस मन्दिरमा यस वर्ष पनि पूर्ववत् रूपमा भूत मेलाको आयोजना गरिएको सोनामाई मन्दिरका पुजारी कामेश्वर झाले जानकारी दिए। उनका अनुसार हरेक वर्षझैँ यस वर्ष पनि हजारौँ पीडित (कारनी) र दर्शनार्थीहरू मन्दिरमा पुगेका छन्। भूत–प्रेत, बोक्साबोक्सी र दुष्ट आत्माबाट सताइएका मानिसहरू हरेक वर्ष सो मेलामा सहभागी हुने गर्छन्।




सोनामाईको कृपाले मानिसहरू निको हुने विश्वास स्थानीयमा छ। वर्षौंदेखि भूत, पिशाच, कालो जादुटुना वा बोक्साबोक्सीको चपेटामा परेका व्यक्तिहरू सोनामाईको सीमाक्षेत्रमा प्रवेश गरेलगत्तै आफूलाई सताउने शक्तिबारे कराउँदै, रुँदै, हाँस्दै, कहिले लड्दै देवीको दरबारसम्म पुग्ने र माताको दृष्टि परेपछि निको भई घर फर्किने जनविश्वास रहेको अर्का पुजारी रमेश झाको भनाइ छ।

महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटसहित मकवानपुर, सुनसरी, मोरङ, काठमाडौँ र भारतका सीतामढी, मधुवनी, पटना आदि स्थानहरूबाट समेत हजारौँ पीडित महिला र पुरुष सोनामाई मन्दिरमा आउने गरेका छन्। “सोनामाई शक्तिपीठमा थुप्रै धामी–झाँक्री रातदिन भजन–कीर्तनमा सहभागी भई भूत भगाउने कार्यमा तल्लीन हुन्छन्,” अर्का पुजारी झगरु झाले बताए।
मेलामा आउने पीडित तथा दर्शनार्थीहरूको सुरक्षासहित रातिको बासको समेत भरपर्दो व्यवस्था मिलाइएको मेला समितिले जनाएको छ।




