महोत्तरी- ७०औं प्रहरी दिवसको अवसरमा महोत्तरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ।
औरही नगरपालिका–१ मा रहेको महादेव मन्दिर परिसरमा प्रहरी चौकी औरहीद्वारा सरसफाइ अभियान सञ्चालन गरिएको हो। त्यस्तै, गौशाला नगरपालिका–५ स्थित दुर्गा मन्दिर, जल्पा मन्दिर र गणेश मन्दिर परिसरमा इलाका प्रहरी कार्यालय गौशालाले बुधबार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।




मन्दिर क्षेत्रको सौन्दर्य संरक्षण र स्वच्छ वातावरण कायम राख्ने उद्देश्यले गरिएको सो अभियानमा इलाका प्रहरी कार्यालय गौशाला र ट्राफिक प्रहरी कार्यालय गौशालाका कर्मचारीहरूका साथै स्थानीय बासिन्दा र भक्तजनहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाका अनुसार चाडपर्व नजिकिँदै गर्दा बजार क्षेत्रमा फोहरमैला बढेको र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो। उनले आगामी दिनमा पनि सार्वजनिक स्थल, विद्यालय र धार्मिक स्थानहरूमा यस्ता सरसफाइ अभियान निरन्तर सञ्चालन गरिने जानकारी दिए।

प्रहरी निरीक्षक लामाको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा गौशाला नगरपालिका–५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता, श्री दुर्गा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानीय व्यापारीहरूको समेत सहभागिता रहेको थियो।

यसैबीच, दुर्गा मन्दिर परिसरमा मोटरसाइकल पार्किङका कारण मन्दिरको सौन्दर्यमा असर परेको भन्दै पुजारीहरूले गुनासो व्यक्त गरेका छन्।






