महोत्तरी - हिन्दुहरूको महान चाड दशैं, दीपावली र छठ पर्वको अवसरमा सामुदायिक विकास युवा क्लब, गौशाला नगरपालिका–१२ कान्तिबजारद्वारा तेस्रो ‘स्व. मुन्नी मिश्रि स्मृति पुरुष भलिबल प्रतियोगिता–२०८२’ आयोजना हुने भएको छ।

आयोजक समितिका अनुसार प्रतियोगिता श्री राष्ट्रिय माध्यमिक विद्यालय, कान्तिबजारको प्राङ्गणमा कार्तिक ७ गते बिहान ११ बजेदेखि सुरु हुनेछ। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक टिमका कप्तान सुरज महतोले प्रतियोगिता भलिबल संघको नियमअनुसार सञ्चालन गरिने जानकारी दिनुभयो।

यस वर्षको प्रतियोगितामा सर्लाही, महोत्तरी र धनुषा जिल्लाका गरी जम्मा १८ टिमले सहभागिता जनाउनेछन्। प्रतियोगितामा प्रथम हुने टिमलाई २२ हजार रुपैयाँ नगद, सिल र मेडल प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई ११ हजार रुपैयाँ नगद, सिल र मेडल पुरस्कारका रूपमा प्रदान गरिने आयोजक समितिका अध्यक्ष सन्तोष सिंहले जानकारी दिनुभयो।

आयोजक क्लबले खेलकुदमार्फत युवालाई अनुशासित, स्वस्थ र सामाजिक उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।








