जनकपुरधाम – मधेश प्रदेशमा सात दलिय गठबन्धनले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको आरोप लगाउँदै आजदेखि विरोध प्रदर्शन सुरु गरेको छ । जनकपुरधामस्थित मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै गठबन्धनका नेता, कार्यकर्ता र सांसदहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरूले ‘असंवैधानिक मुख्यमन्त्री चाहिँदैन’, ‘एमालेको झोले सभामुख चाहिँदैन’, ‘जंगली मुख्यमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गरेका थिए । हिजो बेलुका मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्ने क्रममा मधेश भवन अगाडि प्रदर्शन भइरहेकै बेला सुरक्षाकर्मीले लाठीचार्ज गर्दा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका थिए ।



उक्त घटनापछि सात दलिय गठबन्धनले संयुक्त विज्ञप्ति जारी गर्दै आज बिहान साढे ८ बजेदेखि शान्तिपूर्ण आन्दोलन र विरोध कार्यक्रम सुरु गर्ने जनाएको थियो । गठबन्धनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।




