महोत्तरी- महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित मटिहानी रंगशालामा आजदेखि ‘मटिहानी प्रिमियर लिग (MPL) सिजन–१ (२०८२)’ औपचारिक रूपमा सुरु भएको छ। स्थानीय क्रिकेट प्रतिभाको पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गर्नु भयो।

महोत्तरी र धनुषा जिल्लाका गरी १६ टिम सहभागी प्रतियोगिताको पहिलो खेल वटेश्वर गाउँपालिका–५ शान्तिपुर र औरही गाउँपालिका–४ औरहीबीच सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलमा वटेश्वर–५ ले उत्कृष्ट प्रदर्शन गर्दै औरही–४ लाई ७ विकेटले पराजित गरेको आयोजकले जानकारी दिएको छ।

उद्घाटन समारोह MPL सिजन–१ का संयोजक रितेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वडा अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन साह, सदस्य राम कुमार साह, स्थानीय सुरक्षा निकायका प्रमुख, विभिन्न शाखाका शाखा प्रमुख, मटिहानी क्रिकेट टोलीका खेलाडी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय खेलकुदको विकास तथा युवामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले सुरु गरिएको MPL सिजन–१ आगामी दिनहरूमा झनै रोमाञ्चक हुँदै अघि बढ्ने अपेक्षा आयोजकले व्यक्त गरेको छ।











