बर्दिवास। नेपाली कम्युनिस्ट पार्टी महोत्तरी क्षेत्र नं. १ ले १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ।
केन्द्रीय सदस्य राजु खडकाको नेतृत्वमा ३० वटै वडाको प्रतिनिधित्व हुने गरी आज निर्वाचन परिचालन समिति गठन गरिएको हो।



पार्टीका उम्मेदवार गिरिराजमणि पोखरेललाई विजयी बनाउने अभियानअन्तर्गत परिचालन समिति सक्रियतापूर्वक कार्यक्षेत्रमा खटिने संयोजक खडकाले जानकारी दिए।
पुराना अधुरा कामहरूलाई निष्कर्षमा पुर्याउन र दीर्घकालीन योजनासहित क्षेत्र नं. १ लाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण भएकाले पोखरेल निर्विकल्प उम्मेदवार भएको भन्दै एजेन्डा लिएर घर–घरमा पुगिने संयोजक खडकाले बताए।
नेपाली कम्युनिस्ट पार्टी एकीकृत नभएको तथा चुनावी प्रचार–प्रसार फितलो भएको आरोप लागिरहेका बेला निर्वाचन परिचालन समिति गठन भएपछि कार्यकर्ताहरूमा नयाँ उत्साह सिर्जना भएको नेताहरूले प्रतिक्रिया दिएका छन्।




