जीवनराज दाहाल,बर्दिबास(महोत्तरी)- लोक तथा दोहोरी गायक बेलबहादुर परियारको नयाँ दोहोरी गीत ‘फूल खसिगो, माया बसिगो’ को म्युजिक भिडियो सोमबार बर्दिबासमा विमोचन गरिएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीको आयोजनामा बर्दिबासस्थित गौतम होटलमा आयोजित कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्री र मधेश प्रदेशकी पूर्व राज्य मन्त्री सारदा देवी थापाले संयुक्त रूपमा म्युजिक भिडियो विमोचन गर्नुभएको हो ।

विमोचनपछि म्युजिक भिडियो प्रोजेक्टरमार्फत उपस्थित दर्शकहरूलाई प्रदर्शन गरिएको थियो ।गीतमा गायक बेलबहादुर परियार र प्रतिमा अर्यालको स्वर रहेको छ । शब्द तथा सङ्गीत स्वयं परियारकै रहेको उक्त गीतको एरेञ्ज, मिक्स तथा मास्टरिङ राजीव शाहले गर्नुभएको हो । म्युजिक सिटी डिजिटल, अनामनगरमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट प्रकाश श्रेष्ठ हुनुहुन्छ ।




म्युजिक भिडियोमा सञ्जीव ठकुरी र सुजाता भट्टराईको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन मिलन श्रेष्ठले गर्नुभएको हो भने कोरियोग्राफी राजाराम सिंखडा, छायाङ्कन सन्तोष तिमल्सिना, श्रृङ्गार नितु लामा तथा सम्पादन रोशन धितालले गर्नुभएको छ । भिडियो मिलन फिल्म्स प्रोडक्सन प्रा.लि. द्वारा निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख क्षेत्रीले स्थानीय प्रतिभाको पहिचान र प्रवर्द्धनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले गायक परियारलाई व्यावसायिक तथा राष्ट्रिय कलाकारका रूपमा स्थापित गर्न नगरपालिकाले सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि थापाले गायक परियारले लोक तथा दोहोरी गीतको क्षेत्रमा लामो समयदेखि पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो । अपेक्षित प्रचार नपाए पनि निरन्तर सङ्घर्ष गर्दै सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै उहाँले सबै मिडियाले परियारलाई चिनाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, महोत्तरीका अध्यक्षसमेत रहनुभएका गायक परियारले विमोचन कार्यक्रममा आफ्नो सांगीतिक यात्राका अनुभव, सङ्घर्ष र साधनाका आरोह–अवरोह साझा गर्नुभयो । उहाँले दर्शक–श्रोताको माया र समर्थनले नै कलाकारलाई ऊर्जा दिने बताउँदै सबैलाई आफ्ना सिर्जनालाई हेर्न, सुन्न र माया गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कलाकार, पत्रकार, समाजसेवी तथा राजनीतिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण विनोद ढुङ्गेलले गर्नुभएको थियो भने मिडिया पार्टनरका रूपमा ॐकार टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘पञ्चामृत’ रहेको थियो ।
गायक परियारले यसअघि ‘जाग नेपाली वीर नेपाली’, ‘सिन्धुलीका सुसेलीहरू’, ‘गरौं है रमाइलो’, ‘मिठो सम्झना’ लगायतका गीत सार्वजनिक गरिसक्नुभएको छ । हालै सार्वजनिक ‘फूल खसिगो, माया बसिगो’ पनि दर्शक–श्रोताले रुचाउने अपेक्षा गरिएको छ ।




