जनकपुरधाम । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मधेश प्रदेशको विकास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेश अभियान सुरु गरेका छन् ।
मधेश प्रवेशसँगै आज बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा–अर्चना गरेका घिसिङले जनकचौकमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आगामी निर्वाचन रणनीति र पार्टीको दृष्टिकोण सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले भने, ‘मधेश लामो समयदेखि विकास र अवसरको पर्खाइमा छ । अब मधेशलाई पछाडि पारेर नभई अगाडि राखेर राष्ट्र निर्माण गर्ने समय आएको छ ।’

उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीको अभावका कारण मधेशका युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै त्यसको अन्त्यका लागि ठोस नीति ल्याइने बताए ।
‘हामी चुनाव जित्न मात्र नभई मधेशका जनताको जीवनस्तर परिवर्तन गर्न राजनीतिमा आएका हौं,’ घिसिङले भने, ‘जनताको भरोसामा आधारित राजनीति नै हाम्रो लक्ष्य हो ।’
घिसिङको सचिवालयका अनुसार उनी आगामी दिनहरूमा मधेशका विभिन्न जिल्ला र स्थानीय तहमा पुगेर कार्यकर्ता, मतदाता र सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने कार्यक्रम तय गरिएको छ । यस क्रममा पार्टीको नीति, योजना र घोषणापत्रबारे छलफल गरिनेछ ।
पत्रकार सम्मेलनमा घिसिङले स्थानीय विकासलाई केन्द्रमा राखेर काम गरिने उल्लेख गर्दै भने, ‘स्थानीय तहलाई सबल बनाएर मात्रै प्रदेश र देश समृद्ध बन्छ । हामी यही आधारमा नीति निर्माण गर्नेछौं ।’
उज्यालो नेपाल पार्टीले मधेश अभियानमार्फत स्थानीय कार्यकर्तालाई सक्रिय बनाउने, मतदाता भेटघाट गर्ने र पार्टीका एजेन्डा जनतासम्म पुर्याउने लक्ष्य लिएको छ ।
पार्टीका अनुसार यो अभियान आगामी प्रतिनिधिसभा निर्वाचनको तयारीको महत्वपूर्ण चरण हो ।
अध्यक्ष घिसिङले भने, ‘मधेशको समृद्धि नै नेपालको समृद्धि हो । यस अभियानमार्फत हामी जनताको विश्वास जित्नेछौं र परिवर्तनको आधार तयार गर्नेछौं ।’




