वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएकाे छ ।
भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा आज भएकाे खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ३४ रनकाे लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमा १ विकेट गुमाएर भेटायाे । वेस्ट इन्डिजका कप्तान शाई हाेपले नटआउट ६१, शिमरन हेटमायरले नटआउट ४६ रन बनाए । नेपालका नन्दन यादवले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायाे । नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । यस्तै साेमपालले नटआउट २६ रन बनाए । याे विश्वकपमा नेपाली खेलाडीकाे याे पहिलाे अर्धशतक हाे । वेस्ट इन्डिजका जाेसन हाेल्डरले ४ विकेट लिए ।
नेपालका खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगकाे खेलमा अर्धशतक बनाएका थिए ।
यस्तै याे खेलमा साेमपालले इतिहास रचेका छन् । उनी नेपालका लागि तीन वटा विश्वकप खेल्ने पहिलाे खेलाडी बनेका हुन् ।
लगातार तेस्राे हारसँगै नेपाल टी–२० विश्वकपकाे समूह चरणबाटै बाहिरिने दाेस्राे टाेली बनेकाे छ । नेपाल पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दाेस्राे खेलमा इटालीसँग १० विकेटले पराजित भएकाे थियाे । यसअघि ओमान समूह चरणबाटै बाहिरिएकाे थियाे ।
अब नेपालले समूह चरणकाे अन्तिम खेलमा पर्सि स्कटल्यान्डसँग खेल्नेछ ।
वेस्ट इन्डिज भने लगातार तेस्राे जीतसँगै समूह ‘सी’ बाट ‘सुपर एट’ मा पुगेकाे छ । वेस्ट इन्डिज ‘सुपर एट’ मा पुग्ने पहिलाे टाेली बनेकाे छ ।
टी–२० विश्वकपमा अहिले दिउँसाे सवा ३ बजे अमेरिका र नामिबिया तथा बेलुकी सवा ७ बजे भारत र पाकिस्तान खेल्दैछन् ।




