अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको सैन्य आक्रमणपछि जारी युद्धलाई इरान पनि पछि नहट्ने मनस्थितिमा पुगेको देखिएको छ ।
इरानी विदेशमन्त्री अब्बास अराघचीले बालिकाको विद्यालयमाथि अमेरिका र इजरायलले गरेको आक्रमणको ‘जवाफ दिइने’ बताएका छन् । दक्षिणी इरानको होर्मोज्गान प्रान्तस्थित मिनाब शहरको एक बालिका प्राथमिक विद्यालयमाथि भएको आक्रमण ‘जवाफविहीन नहुने’ बताएका हुन् ।



इरानको राज्य सञ्चालित स्लामिक रिपब्लिक न्युज एजेन्सी (IRNA) का अनुसार उक्त आक्रमणमा ५३ विद्यार्थीको मृत्यु भएको छ। अराघचीले पीडितहरू सबै “निर्दोष बालबालिका” रहेको बताएका छन् ।
त्यस्तै इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर (IRGC) ले इजरायल तथा मध्यपूर्व क्षेत्रभरी रहेका अमेरिकी सैन्य अड्डामाथि आक्रमण जारी रहने बताएको छ । इरानले यसअघि नै अमेरिकी सैन्य बल तैनाथ रहेका कतार, कुवेत, यूएई र बहराइनलगायतका खाडी अरब देशहरूमा आक्रमण सुरु गरिसकेको छ ।
इरानी सरकारी समाचार संस्था फार्स न्युज एजेन्सीले सार्वजनिक गरेको समाचारअनुसार आईआरजीसीले इजरायल र अमेरिकी अड्डामाथिको आक्रमण “अविरल रूपमा जारी रहने” बताएको उल्लेख छ ।




