महोत्तरी- महोत्तरीको बर्दिवासस्थित प्रेमनगरमा दुई पक्षबीच विवाद सिर्जना भएपछि मतदान प्रक्रिया केही समयका लागि स्थगित गरिएको छ।
मतदान केन्द्रमा केही व्यक्तिले दोहोर्याएर मतदान गर्न खोजेपछि विवाद उत्पन्न भई झडपको अवस्था सिर्जना भएको स्थानीयले बताएका छन्।



स्थानीय राजवीर महतोका अनुसार एक व्यक्तिले चार पटकसम्म मतदान गर्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो। त्यसपछि मतदानस्थलमा उपस्थित विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच भनाभन र विवाद सुरु भएको प्रत्यक्षदर्शीले जनाएका छन्।
प्रत्यक्षदर्शीका अनुसार वडा अध्यक्ष भोरिल यादवसहित कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूबीच विवाद चर्किएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।
विवाद बढेपछि मतदान केन्द्रमा केही समयका लागि मतदान प्रक्रिया स्थगित गरिएको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।




