सप्तरीको सुरुंगा नगरपालिका– ३, लक्ष्मीपुरकी एक १४ वर्षीया दलित बालिका बेपता भएको घटना रहस्यमय बनेको छ।
गत सातादेखि बेपत्ता रहेकी ती बालिकाको प्रहरीले खोजतलाश तीव्र पारेको छ।



३/४ वर्षकै उमेरमा आमाबुवा गुमाएपछि ती बालिकालाई स्थानीय महेश्वर यादवले पालनपोषण गर्ने उद्देश्यले राखेका थिए।
आफन्तले ती बालिकाको बलात्कार भएको भनी प्रहरीमा ठाडो उजुरी दिएका छन्। आफ्ना नन्दलाई महेश्वर यादव लगायतका व्यक्तिले बलात्कार गरी गर्भवती बनाएको आरोपसहित बालिकाकी भाउजुले उजुरी दिएकी छिन्। उनले उजुरीमा बालिका ७ महिनाको गर्भवती रहेको दाबी गरेकी छन्।
बालिकाकी भाउजुका अनुसार विगत १०/११ वर्षदेखि महेश्वर यादवले पालन पोषण भनेर लगेकोमा उनलाई पढाइ लेखाइ नगराई घरमा घरेलु कामदारका रूपमा राखेका थिए। यसबीचमा बलात्कार गरी गर्भवती बनाएको उनको दाबी छ।
उनले सो घटना बालिका घरमा राखेको महेश्वर यादव, उनका करिब २१ वर्षीय छोरा कुन्दन यादव, वडा सदस्य बद्री यादव र स्थानीय धर्मदेव यादवसहित चारजनामाथि अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गर्दै गत बुधबार प्रहरीमा उजुरी दर्ता गराएकी हुन्। महेश्वर वडा कार्यालयमा कार्यरत कर्मचारी रीतादेवी यादवका श्रीमान हुन्।
बालिका अहिले कहाँ छिन कसैलाई थाहा छैन। बालिका वडा नं ४ कनकपुर मुसहरी टोल बस्ने उनको दिदी आश्यादेवी सदाले लगेको भनेपनि त्यहाँ पनि नभेटिएको र आरोपित कहाँ पनि नभेटिएको र यी सबै व्यक्ति अहिले फरार रहेकाले घटना रहस्यमय बनेको प्रहरीको भनाई छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डम्बरबहादुर पुरीले भने, ‘बालिका बलात्कृत भएको भनी उजुरी आएको हो। तर बालिका कहाँ के अवस्थामा छ, आरोपितहरू र बालिका लगेका व्यक्ति फरार रहेका कारण रहस्यमय बनेको छ।’
उनले थपे, ‘हामीले घटनालाई गम्भीर रूपमा लिएर खोजी तलाश तथा अनुसन्धान जारी राखेका छौँ। बालिका भेटाएपछि मात्रै सत्य तथ्य बाहिर आउने हो।’
बालिकाको रूपनी ३ र वडा नं ४ कनकपुर बस्ने दुई दिदी छन्। दुवै दिदी मध्ये कसैकहाँ ती बालिका छैनन्। फेरि दुवै दिदी र उनका परिवार समेत घर छाडेर फरार रहेका छन्। उनीहरू सम्पर्कमा आएपछि बालिकाको अवस्था स्पष्ट हुने प्रहरीको भनाई छ ।
बालिका फेला परेपछि स्वास्थ्य परीक्षणमार्फत गर्भावस्था पुष्टि गरिने उनले बताए । त्यसपछि यौन शोषण वा जबर्जस्तीका कोणबाट थप अनुसन्धान अघि बढाइने जानकारी दिए।
घटनाप्रति स्थानीय जनप्रतिनिधिले पनि निष्पक्ष अनुसन्धानको माग गरेका छन् । सुरुंगा– ३ का वडाध्यक्ष किरणकुमार पोखरेलले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउनुपर्ने बताए।
‘निर्दोष फस्नु हुँदैन, दोषी उम्किनु हुँदैन’ उनले भने।




