औरही,महोत्तरी – लोकआस्था तथा सूर्य उपासनासँग सम्बन्धित महान् पर्व चैती छठको मुख्य दिन आज (मंगलबार) साँझ व्रतालुहरूले अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ अर्पण गरेका छन्। चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने यस पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिलाई विशेष महत्त्वका साथ मनाइन्छ। आज साँझ जिल्लाका नदी, पोखरी तथा विभिन्न जलाशयमा निर्माण गरिएका छठ घाटहरूमा व्रतालुहरू भेला भई विधिपूर्वक अर्घ दिएका हुन्।

औरही नगरपालिका–१ स्थित जङ्गहा खोलामा विगतमा जेसिबी प्रयोग गरी पानी व्यवस्थापन गरेर छठ मनाउने गरिए पनि पछिल्ला वर्षहरूमा खोला सुक्दै जानुका साथै प्रदूषण बढेपछि यस वर्ष व्रतालुहरूले वैकल्पिक स्थल रोजेका छन्। स्थानीयवासीका अनुसार गौशाला नगरपालिका–१ रामनगरस्थित पेपर मिलबाट निस्किएको फोहोर पानी मिसिँदा जङ्गहा खोला थप प्रदूषित बनेको छ। सोही कारण यस वर्ष व्रतालुहरू औरही–१ मा रहेको महादेव पोखरीमा भेला भई छठ पर्व मनाएका छन्।




उक्त पोखरीमा करिब १५० घरपरिवार सहभागी भएका छन्। यसैबीच, औरही उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष श्रवण चौधरीले उद्योगबाट निस्कने फोहोर पानीको उचित व्यवस्थापन नहुँदा नदी–खोला प्रदूषित बन्दै गएको बताउनुभयो। “धार्मिक तथा सांस्कृतिक पर्व मनाउने स्थल नै प्रदूषणका कारण प्रभावित हुनु दुःखद पक्ष हो,” उहाँले भन्नुभयो, “सम्बन्धित उद्योग तथा सरोकारवाला निकायले फोहोर पानी प्रशोधन गरेर मात्र वातावरणमा छोड्ने व्यवस्था गर्नुपर्छ।”

त्यस्तै, औरही नगरपालिका–७ सोनामाई भोएलस्थित शक्ति पीठ मन्दिरअगाडिको पोखरीमा करिब ८० घरपरिवार, गौशाला नगरपालिका–५ अन्तर्गत बग्ने मरहा खोलामा करिब ३०० घरपरिवार तथा सोही पालिकाको निगौल ठाकुर पोखरीमा करिब २०० घरपरिवारले सामूहिक रूपमा छठ पर्व मनाएका छन्।

चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी तथा ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँका प्रसिद्ध नदीहरू—बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ।

छठ पर्वको अवलोकन गर्न विभिन्न स्थानबाट श्रद्धालु भक्तजनको उल्लेख्य भीड लागेको छ। आइतबारदेखि विधिवत रूपमा सुरु भएको छठ पर्वअन्तर्गत आज मंगलबार साँझ अस्ताउँदो सूर्य र छठी मातालाई अर्घ अर्पण गरिएको हो। यस पर्वको अन्तिम दिन सप्तमी तिथिमा भोलि बुधबार बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि पूजा समापन हुनेछ।
छठ पर्वमा सूर्य भगवान् र छठी माताको पूजाअर्चनाका लागि गहुँ वा चामलको पिठोबाट तयार पारिएको ठेकुवा, साथै मुला, गाजर, बेसारको हरियो बेर्ना, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी र उखुजस्ता फलफूल अर्पण गर्ने परम्परा रहेको छ।

चैती छठ पर्वका अवसरमा महोत्तरीका विभिन्न नदी, पोखरी तथा जलाशयहरूको सरसफाइ गरिएको छ। तराई–मधेस क्षेत्रमा विशेष आस्थाका साथ मनाइने छठ पर्व कात्तिक र चैत महिनामा वर्षमा दुई पटक मनाउने गरिन्छ।
औरही फोटो

































गौशाला फोटो




















