महोत्तरी – मधेससँग के छैन ? देशलाई नै समृद्ध बनाउने सब थोक छ । चुरेमा पानीको भण्डार छ, मधेसका फाँटमा अन्नको भखारी छ, राष्ट्रमा ज्ञानको ज्योति फैलाउने तीन शताब्दी पुरानो देशकै जेठो गुरुकुल छ,अनि चट्टान फुटाउने जागरिला पाँखुहरू छन् । तर,मधेसले सुनको कचौरा लिएर काठमाडौंसँग भिख मागिरहेको टिप्पणी गर्छन् मधेस मामिलाका अध्यता डा. बिजय कुमार मिश्र।
यतिखेर मधेसको धर्तीपुत्र बालेन्द्र शाह (बालेन,बालम) देशको कार्यकारी प्रधानमन्त्री बनेका छन् । उनको पैत्रिक गाउँमा महोत्तरीको एकडारामा छन् । जहाँ भव्य उत्सव मनाइँदैछ । मधेसले उनीसँग मधेससहित देशको चित्र र चरित्र बदल्ने आशा राखेको छ ।



प्रधानमन्त्री बालेन : आशाको दियो
सबथोक भएर पनि अधिकारबाट बञ्चित मधेस आफ्नै धर्तीपुत्र बालेन प्रधानमन्त्री बनेसँगै आशाको नयाँ अध्यायमा पुगेको छ । मधेस र देशको आशा बनेर बालेन प्रधानमन्त्री बनेपछि भाग्य बदलिने मधेसको बस्ती बस्तीले अपेक्षा गरेको छ । अन्न,पानी र सम्भावनाले भरिएको मधेसले अब बालेनसँग न्यायको अनुभूति गर्न पाए ठूलो उपलब्धी हुने मधेसी जनताको आशा छ। मधेसलाई दुख्दा कहिले काठमाडौंलाई दुखेनन्,बरु घाउमा नुन खुर्सानी छर्कियो । मधेसलाई देख्दा पक्का दुख्नेछ भन्ने आशासहित बालेनलाई प्रधानमन्त्री पाएको मधेसी खुशी भएको डा. बिजय कुमार मिश्रले बताए ।
मधेसी जनताले काठमाडौंसँग राज्यको हरेक स्थानमा बराबरी हिस्सेदारी खोज्दै,जनसंख्याको आधारमा सहभागीताको आवाज उठाउँदै,पहुँचका पाइला अघि बढाउँदै,संवैधानिक र कानुनी सिँढी खोज्दै दशकौं बित्यो । बागमती, कमला, रातु, कोसी, नारायणीमा धेरै पानी बगे । तर, मधेसी जनताले बल्ल मधेसको मधेसी मुलको प्रधानमन्त्री पाएकोमा गौरवान्तित भएका छन् । डा. मिश्रले भने,‘मधेसी जनताले जब जब अधिकार मागे, राज्यले कहिले मधेसी जनताको कुरा सुन्नेनन् । जवाफमा छातिमा तातो गोली दागे । मधेस झन् झन् विद्रोही भयो ।’
शासकहरूले अशब्द प्रयोग गर्दै विभेदको वाण हानिरहे । मधेसलाई जिस्काइरहे, हेपि रहे,भोट बैंकको रुपमा प्रयोग गरिरहे । मधेसको माग संविधान संसोधनदेखि जनसंख्याको आधारमा राज्य सत्तामा पहुँचको आवाजलाई शासकले दवाउदै आएको मधेसको आम भोगाई, बुझाई र प्रश्न रहेको डा.मिश्रले स्पष्ट पारे । ‘यसअघि मधेसवादी दल वा अरु दलबाट मधेसका नेताहरु सरकारमा गए, मन्त्री बने सत्ताको नेतृत्वमा पुग्न सकेका थिए । बालेनलाई मधेसी जनताले अधिक मत दिए, देशभरले त्यसलाई स्वीकारे मत थपे । अहिले मधेसीका छोरो बालेन प्रधानमन्त्री भयो,’ उनले भने ।

भदौं २३ र २४ को जेन्जी आन्दोलनको रापतापमा हालैसम्पन्न भएको निर्वाचनले विद्रोही स्वभावका मधेसलाई आफ्नै छोरो बालेन देशको कार्यकारी प्रधानमन्त्री बनेको खबरले भुईँमा खुटटा छैनन् । किन नहोस् खुशी मधेस,मधेसी छोरो देशको पहिलो कार्यकारी प्रधानमन्त्री जो बनेका छन् । उनीसँग मधेसका जनताले मधेससहित देशको मुहार फेर्ने आशा राखेका छन् ।
मधेसी आयोगका प्रथम प्रमुख आयुक्त डा. बिजय कुमार दत्तका अनुसार मधेसी मुलको मान्छे देशको प्रधानमन्त्री बन्नु पर्छ भन्ने मधेसले राखेको दशकौंको अपेक्षा पूरा भएको बताए । उनले भने, ‘देशको राष्ट्रपति, उपराष्ट्रपति हुँदै कार्यकारी प्रधानमन्त्रीको रुपमा मधेसका पुत्र बालेन्द्र शाहले इतिहास लेखेका छन् । आधुनिक नेपालको २६० वर्षको इतिहासमा मधेसको रैथाने मधेसी मुलले देशको प्रधानमन्त्री पाएको छ ।यो इतिहासको चर्चित घटना हो ।’ हिमाल, पहाड, तराई कोही छैन पराई भन्ने मर्मलाई मतदाताहरुले दुई तिहाई मत दिएर अनुमोदित गर्दै बालेनलाई प्रधानमन्त्री बनाएको उनले सुनाए ।
सुशासन नै मधेसको रोजाइँ
महोत्तरीको बर्दिबासका युवा साजन प्रधानले मधेसी जनताले देशमा सुशासन, समाजिक न्याय खोजेको बताए । ‘सुशासनकै नारामा बालेन सरकारको उदय भयो । जेनजी आन्दोलनको माग पनि त्यही नै थियो,’ उनले भने,‘सार्वजनिक तथा निजी क्षेत्रमा देखिएको विकृति विसंगती विरुद्धको मुख्य लडाईँको नेतृत्व गर्नकै लागि जनताले बालेको आवाजलाई मतदान गरेका थिए । त्यो काम बालेन नेतृत्वको सरकार पुरा गर्नु पर्छ ।’
उनका अनुसार मधेस कुनै बेला शिक्षाको खानी थियो । तर, हिजोआज स्कूलहरू शिक्षक,भवन र डेक्स बेन्च मात्रै देखिन्छ । आज त्यस्तो किन भइरहेको छ ? यो चौतर्फी प्रश्न छ । ‘यसको मुल कारण नै हाम्रा सरकारी र सार्वजनिक संघसंस्थाहरू राजनीतिको छेडखानी र पार्टीहरूको भर्ति केन्द्र बन्यो । यो अब जनताले अस्वीकार गरिसकेको छ । सरकारले निर्मम भएर माफिया विरुद्ध कारवाही थाल्नु पर्छ,’ उनले भने ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो विकृति छ । जनताको नजिकको आवश्यकता पुरा गर्ने सरकारी शैक्षिक संस्था र अस्पतालहरु माफियाको हातमा पुगेको उनको भनाई छ । ‘सरकारी लगानी सबै ध्वस्त बनेको छ । नीति क्षेत्रसंग सरकारी हामिकहरुको सेटिङ्गले यस्तो विकृति फस्टाएको छ । यसको इजाल मधेस र देशले खोजेको हो,’ उनले भने, ‘यस्तोसम्म अवस्था छ कि अस्पतालमा सलाईन पानी, सीटामोल गोदाममा थन्किएर म्याद गुज्रिन्छ तर विरामीले अस्पलामा उपचार पाउँदैन । निजि अस्पालमा बाध्य भएर उपचार गराउन पुग्नु पर्छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको माफियाकरणको उपचार नै जनताले बालेन सरकारसंग खोजेका छन् ।’
कुशासनमा लगाम
पावरको मिसयुजले मधेस अशान्त,अक्रान्त र दलदमा फसेको छ । मुठ्ठी भरका लागि देश स्वर्ग नै छ । तर, आम सर्वसाधारणका लागि पलफलमा मुर्न बाहेकको विकल्प नरहेको जनता माध्यमिक विद्यालय डाँडाटोल विजलपुरा महोत्तरीका पूर्व विद्यार्थी मञ्चका संयोजक धननारायण श्रेष्ठले कथा सुनाए ।
उनका अनुसार समुन्त मधेस र देश निर्माणको बाधक नै कुशासन हो । यो सबै भन्दा पहिला रोकिनुपर्छ । ‘पैसा, पहुँच, सत्ता र पावरको दुरुपयोगले समाज अशान्त मात्रै बनेको छैन, भुइँ तहका जनताहरू सीटामल नपाएर मृत्युवरण गर्नु परिरहेको छ,’उनले भने ।
प्रदेश सरकारका मन्त्रीहरू नै विकासका योजनाका चिठ्ठीहरु कमिसन लिएर उपभोक्त समितिलाई बिक्री गरिरहेको कथा सुनाउँदा पीडाले मन भर्ने गरेको संयोजक श्रेष्ठले सुनाए । उनले भने, ‘कुशासनको शासन चलाउनु मधेसमा मात्रै होइन् देशैभरीमा यो एक किसिमले भ्रष्टहरुले आफ्नो अधिकारजस्तै ठानेको छ ।’
उनका अनुसार जनताको पीडा कति सुनाउने कुन ठाउँमा व्यथिति छैन ? भन्नुस न त्यो भेट्न मुस्किल पर्छ । ‘यो परम्परालाई लगाम लगाउन अब कुनै कदम बाँकी राख्नु हुँदैन,’उनी भन्छन्, ‘समाजमा इमान्दार, सत्य, निष्ठावान व्यक्तिहरु बाँच्ने दिन कहिले आउँछ रु त्यो उत्तर दिने गरि बालेन सरकारले आजैदेखि काम गर्नुपर्छ ।’
नेकपा एमाले महोत्तरीको उपाध्यक्ष अम्बिका गौतमले कुशासनविरुद्धको लडाईँ नै प्रधानमन्त्री बालेनको मुख्य लक्ष्य बन्नु पर्नेमा बताए । उनले भने,‘काठमाडौं उपत्यकामा पुग्दा जुन दुव्र्यवहार खेप्नु परिरहेको छ । त्यो तिरस्कार अब मधेसका छोरो देशको प्रधानमन्त्री बनेकाले त्यसमा अब पक्कै कमी आउँछ ।’
किसानलाई रुनु नपरोस्
मधेससँग देशलाई चौरासी ब्यञ्जन मिष्ठान भोजन गराउने हैसियत छ । तर, मधेसका किसानले कहिले राज्यबाट सहजै न्याय पाउँदैनन् । बर्दिबासका उखु किसान गर्भु महतोले बालेन सरकारसँग उखु किसानले पाउँदै आएको अनुदान रकम तुरुन्त दिलाउनु पर्ने आशा राखेको सुनाए ।

‘हामीलाई सरकारले प्रति क्वीन्टल ७० रुपैयाँको उखु खेतिमा सरकारले दिँदै आएको थियो । त्यसलाई एक वर्ष अघि प्रति क्वीन्टल ३५ रुपैयाँमा झारेको छ । यो सरकारले हामीले पाउँदै आएको प्रति क्वीन्टल ७० रुपैयाँ अनुदान दिनुपर्छ । किन बाँचे मधेस बाँच्छ, मधेस बाँचे देशले पेट मात्रै भरिन्छ ।’ बालेन यही मधेस प्रदेशको महोत्तरी जिल्लाको छोरो रहेको बताउँदै उनले भने, ‘बालेन सरकारले मधेसलाई रुवाउँदैन भनेर हामीले धेरै आशा लगाएर बसेका छौं । हामी धान, गहुँ, उखु, तरकारीबाली सबैको बजार भाउ पाउँछौं, सरकारले दिलाउँछ भन्ने आशा छ । मल, बीउ,प्राविधिक सहयोग सबै सरकारले दिलाउँछ भन्ने हाम्रो माग छ ।’
जनताको बोली सुनियोस्
‘मधेसको कैलास पर्वत टुटेश्वर’का प्रबद्र्धतक तथा पूर्व प्रधानाध्यापक बासुदेव महतोले मधेसका जनताले देशसँग शासन सत्तामा बाराबारी अधिकार र आत्म सम्मान खोजेको बताए । ‘मधेसका जनतासँग मत र कर लिने स्तरमा शासकहरूले सीमित राखे । जसको विरुद्धमा लामो समयदेखि मधेसी जनताले लड्दै,भिड्दै र प्राणको आहुति दिँदै आए,’ उनले भने, ‘जब जब मधेसले अधिकार खोज्यो तब तब राज्यले बोली बन्द गर्न गोली ठोक्यो । तर, यसपालिको जेनजीहरूले देशमा सुशासन माग्दा स्कूले बालबालिकाहरुलाई काठमाडौंमा गोली ठोके । ‘

फागुन २१ को चुनावमा ती शोषक र समान्ति व्यवहार प्रदर्शन गर्नेहरुको मतदानबाटै जनताजनार्दनले पत्ता साफ गरेको उनले बताए । ‘मधेसका जनताले बालेनलाई प्रधानमन्त्री बनाउन अधिक मत दिएका छन् । अब यसमा होसियारीपूर्वक जनताको पक्षमा सरकारले सबै क्षेत्र र सबै भू-गोलका जनताको पक्षमा काम गरेर विश्वकृतिमान राख्नु बालन सरकारको अर्जुन दृष्टि हुनुपर्छ,’ उनले भने ।
चुरेको उत्खन्न रोकियोस्
जनकपुरधाम वन प्राविधिक समाजका महासचिव सुरेश शर्माले देशमा कोही मधेसीका छोरो प्रथम पटक कार्यकारी प्रधानमन्त्री बनेका छन् भने त्यो बालेन्द्र शाह भएको इतिहास देखिएकोमा गौरव महशुस भएको बताए । यो सरकारले मधेसको चुरे बचाउन विशेष ध्यान दिनु पर्ने बताए । उनले भने, ‘हरेक क्षेत्रको विग्रिए पनि सुधार्न सकिन्छ तर,वातावरण विग्रियो भने हामी त्यसलाई फर्कान सक्दैनौं । वातावरण बिग्रियो भने सबै विकास ओझेलमा पर्छ । ’ उनका अनुसार मधेसमा दुई चार हात जुमिन मुनिको पाइने खानेपानी आज पानी पाँच सय फिट तल पुगेको छ । ‘खडेरी लागेर किसानको जीवन नै संकटमा फसकेको छ । तापक्रम ४५ डिग्री सेल्सियस पुग्ने अवस्था पुग्दैछ । मधेसमा जनसंख्याको चाप छ । वातावरणीय प्रदूषण बढ्दै गएको छ । मधसेको जीवन चुरेमा आश्रित छ,’ उनले भने, ‘तर, चुरे पहाड र नदी—खोलाहरु खनेर क्रसरवालाहरूले लगिरहेका छन् । मधेस अन्नको भण्डार हो भने चुरे पानीको भण्डार । मधेसले देशलाई खुवाउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा गर्न चुरेको संरक्षण गर्न जरुरी छ ।’ वातावरण जोगाउन अवाज उठाउने दीलीप (ओम प्रकाश) महतोजस्तालाई माफियाले हत्या गर्ने गरेको सुनाए ।
देश व्याप्त रहेको विभेदको उपचार मधेसी जनताले खोजेको छ । इन्जिनियर मनोज कुमार महतोले समाजिक विकास खोजेको बताए । ‘मधेस विकास मात्रै होइन् समाजिक न्याय चाहेको छ । आजसम्म यहाँ थुप्रै विकास पूर्वधार विकास भयो तर मधेशी जनताले राज्य, सरकारबाट सबै खाले विभेद भोगि रहे,’उनले भने, ‘अब मधेसी जनताले बालेन सरकारले देशमा आत्म सम्मानपूर्व बाँच्न दिन कुरेर बसेका छन् ।’
सुकुम्बासीको हात-हातमा लालपूर्जा होस्
जीवनमा एउटा चिर्कटो लालपूर्जा नभएर बाँचेकाहरूलाई पीडा थाहा छ जीवन बाँच्न कति कठिन छ । सरकारसँग मधेसका सुकुम्बासी, भूमिहिन दलितहरू समस्यामा रहेको महोत्तरीको भंगहाको श्याम सरदारले बताए । ‘पुस्तौदेखि हामी सकुम्बासी भएर बाँचिरहेका छौं । लालपूर्जाको आशा देखाएर धेरै पटक नेताहरूले भोट लिएर । तर, एक टुक्रा जग्गाको लालपूर्जा उनीहरुले दिएन । बालेन सरकारले हामीलाई लालपूर्जा दिलाएर सम्मानित नागरिकको जीवन बाँच्ने वातावरण बनाउन् ।’
बालेन सरकार नढलोस्
देशले कुशल शासक खोजिरहेको बेला देशको ढुकढुकीको रुपमा महोत्तरीका धर्तीपुत्र बालेन शाह देशको प्रधानमन्त्री बनेकोमा अर्थशास्त्री हितनारायण जोशीले सफल कार्यकालको शुभकामना दिए । उनले भने, ‘बालेनसँग देशले ठूलो आशा गरेको छ । त्यो पूरा हुन्छ। हो हल्ला र भ्रम छरेर बालेनले काम गर्न सक्दैन भन्ने भाष्य सिर्जना गर्न खोजिदैछ । त्यसमा कोही पनि लाग्नु हुँदैन । देशका सबै क्षेत्रमा देखिएको व्यथितिको विरुद्धमा बालेन सरकार खारो रुपमा उत्रिन्छ भन्ने आशा छ । बालेनको कार्यकालमा सफल राष्ट बनाउने सम्भावना देखिएको छ ।’

मधेसले धेरै बलिदानी र लडाईँ गरेर देशको शासन सत्ताको बागडोरको नेतृत्वमा बालेनलाई पुर्याएकले यो सरकारलाई कमिकमजोरी गर्ने छुट नरहेको उनले सुनाए । महोत्तरीको बिजलपुराको चल्की चोकमा सैलुन सञ्चालन गर्ने गोविन्दे ठाकुरलाई भने बालेन नेतृत्वको सरकारले पाँच वर्षसम्म काम गर्नु पाउनुपर्ने अपेक्षा राखेका छन् । उनले भने,‘कुनै पनि हालतमा अब सरकार सत्ता स्वास्थ्यमा पार्टी फुटाउने र गिराउने खेलमा घण्टी पार्टी (रास्वपा)का नेताहरु लाग्नु हुँदैन । अरु पार्टीले पनि बालेनलाई सहयोग दिनु पर्छ काम गर्नका लागि ।’
यसपाली पुरानाले भन्दा नयाँले राम्रो गर्छ भनेर बालेनलाई प्रधानमन्त्री बनाउन जनताले बहुमत दिएको उनले सुनाए। ‘यसमा तलमाथि भयो भने मधेसले मान्नेवाला छैन । फेरि अर्को आन्दोलन चर्किहाल्छ । मधेसी जनता विद्रोही चेतका छन् । सबैलाई हेक्का रहोस् ,’उनले भने। – अन्नपूर्ण पोस्ट




