जनकपुरधाम – एसईई परीक्षा दिएका छात्रा र उनीहरूका अभिभावकलाई लक्षित गर्दै ‘धिया’ (बेटी) मार्गदर्शन सौगात कार्यक्रम जनकपुरधाममा आयोजना हुने भएको छ ।
एसईईपछिको संवेदनशील मोडमा रहेका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा विषय छनोट गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।




आज (शनिबार) बिहान ११ बजे उद्योग वाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा विभिन्न क्षेत्रका सफल महिलाहरूले आफ्ना अनुभव, संघर्षका कथा र सफलताका सूत्रहरू प्रस्तुत गर्नेछन् ।
कार्यक्रममार्फत् छात्राहरूले आफ्नो भविष्य निर्माणका लागि आवश्यक प्रेरणा, स्पष्ट मार्गदर्शन तथा आत्मविश्वास हासिल गर्ने अपेक्षा गरिएको छ । साथै अभिभावकहरूलाई पनि आफ्ना छोरीहरूको करियर विकासमा कसरी सहजीकरण गर्ने भन्नेबारे व्यावहारिक जानकारी दिइनेछ ।

आयोजकका अनुसार मधेश प्रदेशका विविध क्षेत्रबाट प्रतिनिधित्व गर्ने अनुभवी महिलाहरूलाई मेन्टरका रूपमा सहभागी गराइनेछ, जसले सहभागी छात्राहरूलाई नजिकबाट मार्गदर्शन प्रदान गर्नेछन् ।





