सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–२ नवलपुर जुटपानी क्षेत्रमा भाडाको घरमा लुकिछिपी सञ्चालन भइरहेको अवैध गर्भपतन क्लिनिकमा छापा मारेर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ निवासी ४५ वर्षीय लालबाबु राय यादव रहेका छन् ।




जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार यादवलाई नियन्त्रणमा लिएर म्याद थप गरिएको छ । हाल उनलाई ईलाका प्रहरी कार्यालय नवलपुरको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार कुनै पनि निकायमा दर्ता नगरी तथा अनुमति नलिई स्वास्थ्य सेवा सञ्चालन गरेको सूचनाका आधारमा कारबाही गरिएको हो ।

स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाका अनुसार अनुगमनका क्रममा उक्त स्थानबाट गर्भपतनमा प्रयोग हुने औजार तथा औषधि बरामद गरिएको छ । क्लिनिक नवजीवन विद्याश्रम नजिक बोर्डसमेत नराखी सञ्चालन भइरहेको खुलेको छ।

प्राप्त सूचनापछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको टोलीले बुधबार अनुगमन गर्दा अवैध गतिविधि फेला परेको थियो । टोलीले क्लिनिक तत्काल सिल गरी सञ्चालकलाई प्रहरीको जिम्मा लगाइएको छ ।





