- सुजाता राई
विराटनगर । विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा किरात राई यायोख्खा महानगर समितिको आयोजनामा तथा बान्तावा भाषा प्रशिक्षण सहआयोजनामा एकमहिने बान्तावा भाषा प्रशिक्षण तालिम सञ्चालनमा रहेको छ।
२०८३ वैशाख १२ गतेदेखि सुरु भएको उक्त तालिम २०८३ जेठ १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। भाषा संरक्षण र पुस्तान्तरणलाई लक्ष्य गर्दै सञ्चालन गरिएको तालिममा विभिन्न समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ।
तालिमको उद्घाटन समारोहमा विराटनगर महानगरपालिका–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष दिलबहादुर थेबे विशिष्ट अतिथि थिए भने बान्तावा खिमका केन्द्रीय महासचिव रिता राराहाङ राई, किरात याक्थुङ चुम्लुङका श्री नारायण याक्सो, नेपाल मगर समाज संघका कुवेर मगर, भुजेल समाज सेवाका गोपाल भुजेल, किरेतेश्वर मांखिमका अध्यक्ष धर्मराज लिम्बु, किरात सेवा समाजका दशरथ रुमदाली, बान्तावा खिमका नगर अध्यक्ष हाङकोन युमा राई लगायतको उपस्थिति रहेको थियो।




उद्घाटन कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले भाषा र संस्कृति संरक्षणलाई समाजको पहिचानसँग जोड्दै यस्ता प्रशिक्षण कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा राखे। उनले स्थानीय तहबाट यस्ता पहललाई प्रोत्साहन गरिने समेत उल्लेख गरे।

विशिष्ट अतिथि रिता राराहाङ राईले मातृभाषा जगेर्ना गर्नु समुदायको अस्तित्वसँग गाँसिएको विषय भएको बताउँदै नयाँ पुस्तालाई भाषाप्रति सचेत बनाउनुपर्नेमा जोड दिइन्।

कार्यक्रममा सल्लाहकार मेजर मानबहादुर राईले राई समुदायमा रहेका भाषाहरू क्रमशः ३२ मा २६ झरेको लोप हुने अवस्थामा पुगेकाले संरक्षण अपरिहार्य रहेको बताए। उनले राई भाषाका विभिन्न उपभाषामध्ये बान्तावा भाषाको प्रयोग र विकासमा विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे।
तालिममा प्रमुख प्रशिक्षकका रूपमा सुजाता राई र सहायक प्रशिक्षक खड्गबहादुर राई रहेका छन्। कार्यक्रम किरात राई यायोख्खाका महानगर अध्यक्ष विष्णु राईको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य सह–सचिव बालकुमारी राईले व्यक्त गरिन् भने कार्यक्रम सञ्चालन सचिव दशरथ रुमदालीले गरेका थिए।




