स्वास्थ्य क्षेत्रका समस्या, सेवाको पहुँच र जनचासोका विषयलाई निरन्तर समाचारमार्फत उजागर गर्दै आएका मधेश प्रदेशका दुई महिला पत्रकार ‘रामा यादव स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनु भएका छन् ।
गौरमा सोमबार सञ्चार उद्यमी रामा यादवको पाचौँ पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा टिभी टुडे जनकपुरकी संवाददाता चाँदनी झा र बाराकी पत्रकार शारदा पोखरेललाई सम्मान गरिएको छ । पत्रकार झा र पोखरेललाई जनही नगद २६ हजार रुपैयाँसहित प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरिएको छ । पत्रकार झा र पोखरेल लामो समयदेखि विभिन्न सञ्चार माध्यममा स्वास्थ्य सम्बन्धी समाचार समेत लेख्दै आएकी छन् । विशेषगरी स्वास्थ्य संस्थाका कमजोर अवस्था, स्थानियले भोग्ने पर्ने कठिनाइ र स्वास्थ्य सेवाको पहुँचसम्बन्धी विषयलाई उहाँहरुले प्राथमिकताका साथ उठाउँदै आएकी छन् ।



रामा यादव स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गर्दै आएको ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार २०८१ को लागि बारा जिल्लाबाट रातोपाटी अनलाइनकी संवाददाता शारदा पोखरेल र ‘रामा यादव स्मृति’ पत्रकारिता पुरस्कार २०८२ महोत्तरी खुट्ट पिपराठी– ४ की टिभी टुडे जनकपुरमा कार्यरत झालाई दिने निर्णय गरिए अनुसार उनीहरुलाई पुरस्कार सहित सम्मान गरिएको रामा यादव स्मृति प्रतिष्ठान रौतहटका संरक्षक जयप्रकाश यादवले जानकारी दिए ।
विश्वव्यापी कोरोना महामारीका कारण २०७८ साल वैशाख २८ गतेका दिन सञ्चार उद्यमी रामा यादवको मृत्यु भएको थियो । उनी जयरामा मिडिया प्रा.लिद्वारा संचालित रेड टिभी, रेड पोष्ट, रेडखबर लगायतका सञ्चारमाध्यम संचालन गर्दै संचार क्षेत्रमा एउटा सफल संचार उद्यमीको रुपमा स्थापित थिए । गत वर्ष विभिन्न कारणले गर्दा पुरस्कार प्रदान गर्न न सक्दा यस वर्ष दुबै वर्षमा छनौट भएकी महिला पत्रकारलाई पुरस्कार सहित सम्मान गरिएको आयोजकले जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले तराई–मधेश क्षेत्रमा महिला पत्रकारको सहभागिता अझै न्यून रहे पनि कठिन परिस्थितिमा सक्रिय महिला पत्रकारहरूले तथ्यमा आधारित समाचारमार्फत उल्लेखनीय योगदान पु¥याउदै आएको बताउदै स्वास्थ्यलगायत सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाइरहेका महिला पत्रकारप्रति सम्मान व्यक्त गरे ।
कार्यक्रममा रेड टेलिभिजनका संस्थापक तथा प्रतिष्ठानका संरक्षक जयप्रकाश यादवले स्वागत मन्तव्यको क्रममा आगामी वर्षहरूमा पुरस्कारलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी बनाउँदै महिला पत्रकारहरूको सम्मान र प्रोत्साहनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानकी संयोजक अनु यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कार्की, वरिष्ठ पत्रकार प्रभातकुमार झा, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश कुमार यादव, जिल्ला समन्वय समिति रौतहटका सभापति राम अयोध्या राय यादव, सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीलगायतकाले पुरस्कृत दुबै जना महिला पत्रकारको प्रशंसा गरे ।




