महोत्तरी- औरही नगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरिएको छ ।
नगरपालिकाको वडा नं. २ स्थित श्री प्रसाद सिंह नमूना विद्यालय पछाडिको ठूलो पोखरीको दक्षिण डिलमा निर्माण हुने भवनको नगर प्रमुख प्रदिप कुमार खड्का, उपप्रमुख रेणु झा तथा वडाध्यक्षहरूले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो ।




भ्याट तथा पी.एस.सहित ७ करोड ७६ लाख ३२ हजार १ सय २ रुपैयाँ २९ पैसाको लागतमा निर्माण हुने भवनको ठेक्का बालाजी ड्रिमवे श्री भगत जे.भी.सिरहाले पाएको छ । निर्माण सम्झौता गत वैशाख २२ गते सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।
शिलान्यास कार्यक्रममा नगर प्रमुख खड्काले विगत तीन वर्षदेखिको निरन्तर प्रयासपछि प्रशासकीय भवन निर्माण प्रक्रिया कार्यान्वयन चरणमा पुगेको बताउनुभयो । उहाँले भवन निर्माणका लागि केही रकम नगरपालिकाले विनियोजन गरिसकेको र बाँकी रकम व्यवस्थापनका लागि संघीय सरकारसँगको साझेदारीमा योजना अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले १८ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गर्दै समयमै गुणस्तरीय निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।
नगर प्रमुख खड्काले “यो भवन केवल संरचना मात्र नभई सेवा प्रवाहलाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउने आधार हुनेछ” भन्नुभयो ।

उपप्रमुख रेणु झा ले भवन निर्माणसँगै सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थायी प्रशासकीय संरचनाले नगरपालिकाको संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत सुशील प्रसाद आचार्यले भवन निर्माणले प्रशासनिक कार्यसम्पादन अझ सहज र प्रभावकारी हुने बताउनुभयो । उहाँले सेवा प्रवाह, अभिलेख व्यवस्थापन तथा शाखागत काममा सुधार आउने उल्लेख गर्नुभयो ।

पूर्वाधार विकास शाखाका इन्जिनियर संतोष कुमार यादवले भवन निर्माण प्राविधिक मापदण्डअनुसार गुणस्तरीय रूपमा सम्पन्न गरिने बताउनुभयो । उहाँले नियमित अनुगमनसहित काम अघि बढाइने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका प्रदेश कमिटी सदस्य नरेन्द्र यादवले प्रशासकीय भवन निर्माणसँगै सेवा प्रवाहमा सुधार आउने अपेक्षा व्यक्त गर्दै स्थायी संरचना बनेपछि जनताले एकीकृत रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्माण कार्य समयमै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष दरेश यादवले भवन शिलान्यासलाई नगर विकासको महत्वपूर्ण उपलब्धि भन्दै सेवा प्रवाह अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले समयमै निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका नगर सभापति योगेन्द्र यादव ले प्रशासकीय भवन शिलान्यासलाई दीर्घकालीन विकासतर्फको महत्वपूर्ण कदम भएको बताउनुभयो । उहाँले भवन बनेपछि प्रशासनिक कामकाज व्यवस्थित हुने र नागरिकले सहज सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।

वडा नं. ७ का वडा अध्यक्ष जितेन्द्र यादव र वडा नं. ९ का वडा अध्यक्ष रघुनन्दन चौधरी ले भवन निर्माणलाई नगर विकास र सेवा प्रवाह सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताउनुभएको छ ।
स्थानीयवासीहरू नविन यादव, रामबाबु चौधरी र राजनारायण यादवले नगरपालिकाको आफ्नै भवन निर्माणले सेवा प्रवाह सहज हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।
शिलान्यास कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि,नगरपालिकाका कर्मचारी,ब्यापारी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।































