महोत्तरी – महोत्तरीको लोहरपट्टी नगरपालिका क्षेत्रमा अवस्थित धार्मिकस्थल गेरुकाधाममा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको उल्लेखनीय भीड लागेको छ।
धार्मिक आस्था तथा परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी पूजा–आराधना गरेका छन्। विशेषगरी मिथिला क्षेत्रका साथै छिमेकी भारतबाट आएका श्रद्धालुहरूले स्नानपछि भगवान विष्णुको मन्दिरमा पूजा अर्चना गर्दै सुख, शान्ति तथा मोक्ष प्राप्तिको कामना गरेका थिए।



धार्मिक मान्यताअनुसार गेरुकाधाममा स्नान गर्दा पाप नाश हुने तथा पुण्य लाभ प्राप्त हुने विश्वास रहिआएको छ। विशेष स्नान अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनहरूको सहभागितामा भजन–कीर्तन, झाँकी तथा विविध धार्मिक कार्यक्रम आयोजना गरिएको थियो।
मेला व्यवस्थापन समितिले श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, सुरक्षा तथा स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको जनाएको छ।
गेरुकाधाममा विशेषगरी अधिकमास तथा अन्य धार्मिक अवसरहरूमा ठूलो मेला लाग्ने परम्परा रहँदै आएको छ। प्रत्येक वर्ष धार्मिक स्नान तथा पूजापाठका लागि हजारौँ श्रद्धालु यहाँ पुग्ने गरेका छन्, जसले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ।




