मनिका झा
जनकपुरधाम : सेवकी सदा भर्खर १७ वर्ष पुगिन्। अहिले उनको पढ्ने, खेल्ने र रमाइलो गर्ने उमेर हो तर सेवकीको काँधमा दुई सन्तानको जिम्मेवारी आइलागेको छ। उनकी एक छोरी २ वर्षकी छिन् भने अर्को छोरा भर्खर ६ महिनाको भएको छ। सेवकीको विवाह भएको तीन वर्ष बितिसक्यो। मुसहर समुदायकी सेवकीले विद्यालयको मुखसमेत हेरेकी छैनन्। यस समुदायमा सानैमा छोराछोरीको विवाह गर्ने चलन छ। उनको विवाह पनि सानै उमेरमा भयो।



महोत्तरीको मनरासिसवा नगरपालिका—१० (मधवा) गाउँकी सेवकीको घर जलेश्वर हो। उनका श्रीमान् पनि भर्खर २० वर्षका भए। उनी ज्याला–मजदुरी (लेबर)को काम गर्छन्। दैनिक ज्यालादारीका भरमा चलेको सेवकीको परिवारलाई आफ्ना दुई बालबालिकालाई पोषणयुक्त खानेकुरा खुवाउने र उनीहरूलाई सफासुग्घर राख्ने जस्ता कुरा खासै थाहा छैन। उनी जसरी आफैं बाँचिरहेकी छिन्, त्यसरी नै बच्चालाई पनि हुर्काइरहेकी छिन्। सेवकीका दुवै बालबालिका कुपोषित छन्। उनलाई कुपोषण के हो भनेसम्म थाहा छैन।
मधेस प्रदेशका दलित, विपन्न र न्यून आय भएका परिवारमा कुपोषणले जालो फैलाउँदै गएको छ। एकातर्फ प्रदेश सरकारले कुपोषणलाई प्रदेशबाट हटाउन ठूला–ठूला होटलमा सभा, गोष्ठी र भोजभतेर गरेर गफमै समय बिताइरहेको छ। अर्कोतर्फ स्थानीय स्तरमा कुपोषण विकराल स्वास्थ्य समस्याका रूपमा विकसित हुँदै गएको छ।
नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भे २०२५ को सर्वेक्षणअनुसार मधेस प्रदेशमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूमा गर्भवती हुने दर प्रतिहजारमा ७१ जना छ। नेपालमा यो कर्णालीपछिको दोस्रो उच्च स्थान हो। कर्णाली प्रदेशमा यसै उमेर समूहमा प्रतिहजारमा ७७ जना गर्भवती हुन्छन् भने देशभरि यो उमेरमा प्रतिहजारमा ४८ जना किशोरीहरू गर्भवती हुने गरेको तथ्यांक छ।
‘हामीकहाँ उपचारका लागि आउनुहुने अधिकांश महिलाहरूमा रक्तअल्पता, कम तौल र शारीरिक कमजोरीको समस्या हुन्छ,’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राखी साह भन्छिन्, ‘कम उमेरमा गर्भधारण गर्ने, आफैं कुपोषित भएर बच्चा जन्माउँदा त्यो पनि कुपोषित नै हुने र अधिकांश महिलाहरूमा अहिले बाँझोपनको समस्या पनि निकै बढेको छ।’
कुपोषणलाई पोषक तŒवहरूको अपर्याप्त वा असन्तुलित सेवनबाट उत्पन्न हुने अवस्थाका रूपमा परिभाषित गरिएको छ, जसले स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। यसले क्यालोरी, प्रोटिन, भिटामिन र खनिजहरूको अपर्याप्त सेवनद्वारा सिर्जित ‘न्यून पोषण’ र अत्यधिक क्यालोरी सेवन
तथा मोटोपनसँग सम्बन्धित ‘अत्यधिक पोषण’ दुवैलाई समेट्छ। कुपोषणले सबै उमेरका व्यक्तिहरूलाई असर गरे पनि विशेष गरी बालबालिका, वृद्धवृद्धा र दीर्घकालीन रोग भएकाहरूजस्ता कमजोर जनसंख्यामा बढी घात गर्छ।
मधेस प्रदेशमा कुपोषणको अवस्था
कुल प्रजनन दर २.७ प्रतिशत रहेको मधेस प्रदेशमा २३.४ प्रतिशत जन्म स्वास्थ्य संस्थाबाहिर (अधिकांश घरमा) हुने गर्दछ भने ७६.६ प्रतिशतले मात्र स्वास्थ्य संस्थामा बच्चा जन्माउने गर्दछन्। मातृ मृत्युदरको अवस्था पनि यस प्रदेशमा भयावह छ। देशभर प्रतिलाख जीवित जन्ममा १५१ जनाको मातृमृत्यु हुने गर्दछ भने मधेस प्रदेशमा प्रतिलाख महिलाहरू आमा बन्दा त्यसमध्ये १४० जनाले ज्यान गुमाउने गर्दछन्।
५ वर्षमुनिका बालबालिकाको उमेरअनुसार उचाइ वा लम्बाइको अवस्था हेर्दा यस प्रदेशमा पुड्कोपनको समस्या भोगिरहेका बालबालिकाको संख्या २ लाख ७ हजार ४९४ छ, जुन अन्य प्रदेशहरूको तुलनामा सर्वाधिक हो। मधेसपछि दोस्रो नम्बरमा लुम्बिनी प्रदेश पर्दछ, जहाँ बालबालिकाहरूमा पुड्कोपनको संख्या १ लाख १४ हजार ४४३ छ। त्यसपछि तेस्रो नम्बरमा कोशी प्रदेश (७३ हजार १५६) छ। बागमती प्रदेशमा ६५ हजार ७ सय ९९, कर्णाली प्रदेशमा ५५ हजार ७ सय २ र सुदूरपश्चिम प्रदेशमा ४९ हजार १०० बालबालिकामा यो समस्या छ। सबैभन्दा कम गण्डकी प्रदेशमा ३१ हजार ४ सय ६३ बालबालिका पुड्कोपनको समस्या भोगिरहेका छन्।
पोषण सर्वेक्षण २०२३ को तथ्यांकअनुसार मधेस प्रदेशमा जिल्लागत रूपमा ६ देखि ५९ महिनाका बालबालिकाहरूमा पुड्कोपनको प्रतिशत हेर्दा सबैभन्दा बढी महोत्तरीमा ३१ प्रतिशत बालबालिका पुड्का छन् भने सबैभन्दा कम पर्सामा २४ प्रतिशत बालबालिकामा यो समस्या छ।
बालबालिकाहरूमा ख्याउटेपनको समस्या पनि सबैभन्दा बढी मधेसमै छ। यहाँ ४० हजार ३ बालबालिका ख्याउटेपनबाट ग्रसित छन्। सर्वेक्षणअनुसार जिल्लागत रूपमा ६ देखि ५९ महिनाका बालबालिकामा सबैभन्दा बढी धनुषा जिल्लामा २२ प्रतिशत बालबालिकाहरूमा यो समस्या छ भने सबैभन्दा कम पर्साका बालबालिकाहरू ख्याउटेपनबाट ग्रसित छन्। ५ वर्षमुनिका बालबालिकाहरूमा मध्यम तथा गम्भीर प्रकृतिको अधिक तौलको अवस्था हेर्दा यस प्रदेशमा ५ हजार ३ सय ३७ बालबालिका अधिक तौलको सिकार छन्।
रक्तअल्पताः एक गम्भीर समस्या
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांक अनुसार मधेस प्रदेशमा ६ देखि ५९ महिनाका बालबालिकाहरूमध्ये ५०.६ प्रतिशतमा रक्तअल्पताको समस्या छ। संख्यात्मक रूपमा यो ३ लाख ३७ हजार ५ सय ९४ हुन आउँछ। नेपालका अन्य सबै प्रदेशभन्दा मधेसमा बालबालिकाको रक्तअल्पता समस्या सर्वाधिक छ। त्यसैगरी, मधेसका १५ देखि ४९ वर्षका महिलाहरूमध्ये ५२ प्रतिशतमा रक्तअल्पताको समस्या छ। संख्यात्मक रूपमा ८ लाख ९५ हजार ६ सय ६७ महिलाहरू रक्तअल्पताको समस्या भोगिरहेका छन्।
‘अव्यवस्थित खानपान, जनचेतनाको कमी र सानै उमेरदेखि राम्रो स्याहार नहुनाले पनि मधेसमा रक्तअल्पताको समस्या बढेको हो,’ मातृ तथा नवशिशु शाखा, मधेस प्रदेशकी प्रमुख प्रतिभा सिंह भन्छिन्, ‘रक्तअल्पताकै कारण मधेसका अधिकांश महिलाहरू प्रसूतिका क्रममा जोखिममा पर्ने र ज्यानै गुमाउने खतरा बढ्ने गर्छ। अर्कोतर्फ यस्ता महिलाहरूबाट जन्मिएका बालबालिकाहरू कुपोषित हुने सम्भावना पनि निकै बढेर जान्छ। साथै बालबालिकाहरू पनि सुस्त हुने तथा उनीहरूले पढाइ एवं अतिरिक्त क्रियाकलापहरूमा राम्ररी ध्यान दिन नसक्ने जस्ता समस्याहरू छन्।’
रक्तअल्पता एक यस्तो अवस्था हो, जसमा रगतमा स्वस्थ रातो रक्तकोशिकाको अपर्याप्त मात्राका कारण शरीरका तन्तुहरूमा अक्सिजन आपूर्ति कम हुन्छ। यो अवस्थाले पर्याप्त अक्सिजन ढुवानी गर्ने रगतको क्षमता घटाउँछ, जसले गर्दा व्यक्तिलाई कमजोर र थकित महसुस गराउँछ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभरि लगभग दुई अर्ब मानिसहरूमा रक्तअल्पताको समस्या छ र यो विश्वव्यापी रूपमै सबैभन्दा सामान्य पोषण विकार बनेको छ।
दिगो विकास लक्ष्यमा कुपोषणबाट पार पाउनु चुनौती
दिगो विकास लक्ष्यअनुसार सरकारले अबको ४ वर्ष अर्थात् सन् २०३० सम्ममा ५ वर्षमुनिका रक्षा गर्न सकिने नवजात शिशु तथा बालमृत्युदरको अन्त्य गर्ने लक्ष्य लिएको छ। जसमा प्रतिहजार जीवित जन्ममा नवजात शिशुमृत्युलाई कम्तीमा १२ र ५ वर्षमुनिका बालमृत्यु दरलाई कम्तीमा २४ मा सीमित गर्ने लक्ष्य छ। तर, मधेसमा देखिएको नवजात शिशु मृत्युदर र ५ वर्षमुनिको बाल मृत्युदरको अवस्थाले यो लक्ष्य पूरा गर्न चुनौतीपूर्ण देखाउँछ।
पुड्कोपन सन् २०३० सम्ममा १५ प्रतिशतमा झार्ने लक्ष्य छ तर मधेसमा यो पनि चुनौतीकै रूपमा रहेको छ। दिगो विकास लक्ष्यले ख्याउटेपनलाई न्यूनतम ४ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ तर मधेसको वर्तमान परिस्थितिले यो सम्भव देखिँदैन। ‘कुपोषणको समस्या समाधान गर्न यस प्रदेशमा सबैभन्दा ठूलो समस्या समन्वयको छ। यति विकराल स्वास्थ्य समस्याका विषयमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयन नै छैन।
विषयगत क्षेत्रहरूबीच पनि समन्वय नहुनु दुःखद छ,’ मधेस प्रदेश नीति आयोगका पूर्वअध्यक्ष डा. सोहन साह भन्छन्, ‘सामुदायिक स्तरमा, ग्रामीण स्तरमा र पारिवारिक स्तरमा पोषणको सम्बन्धमा व्यवहार परिवर्तन नै हुन सकेको छैन। सचेतनाको अभाव छ। हाम्रो समग्र कृषि उत्पादन हेर्ने हो भने हामी विशेष गरी खाद्यान्न बालीको उत्पादनमा केन्द्रित छौं। विविधतायुक्त आहारहरूको उत्पादन हाम्रो प्रदेशमा निकै कम हुने गर्दछ। यो एउटा नीतिगत समस्या पनि हो। किनकी सरकारले विविधतायुक्त खाद्य पदार्थको उत्पादनमा खासै अनुदान प्रदान नगर्दा किसानहरूले त्यतातिर ध्यान दिएका छैनन्।’
प्रदेशमा कुपोषणलाई न्यूनीकरण गर्न तथा मातृशिशु स्वास्थ्य सुधारका लागि तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको मधेस प्रदेशसभाका सभामुख रामअशिष यादव बताउँछन्। ‘पोषण केवल स्वास्थ्य क्षेत्रसँग मात्र सीमित नभई शिक्षा, कृषि, खानेपानी, सरसफाइ तथा सामाजिक चेतनासँग जोडिएको विषय भएकाले त्यसलाई समृद्ध बनाउन दीर्घकालीन नीति, व्यावहारिक योजना तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य छ,’ यादव भन्छन्, ‘यसका लागि तीनै तहले प्रभावकारी समन्वय र सहकार्य गर्नु आवश्यक छ।’
मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिकी सभापति रूपाकुमारी यादव प्रदेश सरकारले अबको बजेटमा महिलाको स्वास्थ्य, बालअधिकार तथा पोषण सुरक्षालाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताउँछिन्। ग्रामीण तथा विपन्न समुदायमा अझै पनि पोषणसम्बन्धी चेतनाको अभाव देखिएकाले स्थानीय तहसँग सहकार्य गरेर चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता उनी देख्छिन्।
किन बढ्दैछ मधेसमा कुपोषण ?
‘मधेस प्रदेशको बदनामीको एउटा ठूलो कारण कुपोषण बनेको छ,’ मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव भन्छन्, ‘यस प्रदेशमा पोषणलाई लक्षित गरी गरिब तथा निमुखा वर्गका लागि उपलब्धिमूलक कार्यक्रमहरू बजेटमा समावेश गर्नु अत्यन्त आवश्यक छ। एक त मधेस प्रदेशमा पोषणको क्षेत्रमा बजेट नै न्यून विनियोजन हुन्छ, त्यसमा पनि विनियोजित बजेट आवश्यकता भएकाहरूसम्म पुग्न नसक्नु दुःखद पक्ष हो। यसका लागि विशेष ध्यान दिने प्रयास गरिरहेका छौं।’ मधेसमा कुपोषण बढ्नुका थुप्रै कारणहरू छन्। जसमा पोषणका लागि सिफारिस गरिएका व्यवहारहरू नअँगालिनु र त्यसका विषयमा जनचेतना नहुनु नै प्रमुख रहेको विशेषज्ञहरू बताउँछन्।
शिशु जन्मेको एक घण्टाभित्रै स्तनपानको सुरुवात यस प्रदेशमा मात्र ५५ प्रतिशत महिलाहरूले गर्छन् भने ६ महिनासम्म आमाको दूध मात्रै खुवाउने अर्थात् पूर्ण स्तनपान गराउने ६५ प्रतिशत मात्र छन्। प्रदेशका १२ प्रतिशत बालबालिकाहरूलाई दूधदानीबाट असुरक्षित रूपमा दूध खुवाउने गरिन्छ, जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ। बच्चाहरूलाई दूधदानीबाट दूध खुवाउनेमा सबैभन्दा बढी ४९ प्रतिशत उच्च शिक्षा हासिल गरेका महिलाहरू नै रहेको सर्वेक्षणले देखाएको छ। त्यसैगरी, आर्थिक अवस्था उच्च रहेका परिवारहरूमा सबैभन्दा बढी ४६ प्रतिशत महिलाहरूले बच्चालाई दूधदानीबाट दूध खुवाउँछन्।
‘दूधदानीबाट बच्चालाई दूध खुवाउनुलाई अहिले फेसनका रूपमा बढी लिन थालिएको छ तर यो कुपोषणको एउटा ठूलो कारक हो,’ स्वास्थ्यकर्मी निशा झा भन्छिन्, ‘कुनै शारीरिक अस्वस्थता वा गम्भीर परिस्थितिका कारण आमाले बच्चालाई दूधदानीबाट दूध खुवाउँदा समेत त्यसको सरसफाइ र दूध बनाउने तरिकालगायत विषयमा विशेष ध्यान पुर्याउनु आवश्यक छ। सकभर बच्चालाई आमाले आफ्नै दूध खुवाउनु राम्रो हो।’
बालबालिकाहरूलाई पूरक खानेकुरा खुवाउने सही अभ्यास नहुनु पनि कुपोषणको ठूलो कारण हो। मधेस प्रदेशमा मात्र ३६ प्रतिशत बालबालिकाहरूलाई मात्र न्यूनतम विविधतायुक्त आहार खुवाउने गरिन्छ भने न्यूनतम स्वीकार्य आहारमा ३१ प्रतिशत बालबालिकाहरूको मात्र पहुँच छ। बाँकी रहेका बालबालिकाहरूले ६ देखि २३ महिनाको अवधिमा पूरक खानेकुरासमेत खान नपाउँदा कुपोषणको सिकार हुने गरेका छन्।
प्रदेशमा अस्वस्थकर खाना खाने बालबालिकाहरू ४० प्रतिशत छन् भने फलफूलसमेत खान नपाएका बालबालिकाहरू मधेसका ग्रामीण क्षेत्रमा ३७ प्रतिशत छन्। प्रदेशमा गम्भीर खाद्य गरिबीको स्तरमा ३३ प्रतिशत बालबालिकाहरू छन्, जसमा सहरी भेगका २९ प्रतिशत छन्।
सामान्यतया कुपोषणका कारणहरूमा जन्मजात कुपोषण, पौष्टिक खाद्य पदार्थबारे अज्ञानता, गर्भावस्थामा आमाले पोषक तत्वसहितको खाना खान नपाउनु वा नखानु, पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भिटामिन तथा खनिज पदार्थको कमी, अस्वस्थ वातावरणको असर, विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग,
समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु र बिरामी पर्नु (जस्तैः– शिशु तथा बालबालिकाहरूलाई दीर्घ झाडापखाला, निमोनिया भई पटक–पटक बिरामी भइराख्नु) इत्यादि हुन्।-अन्नपूर्णापोष्ट





