महोत्तरी – महोत्तरीको चर्चित सुजिता ठाकुर हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीले १३ आरोपीमध्ये १० जनालाई सफाइ दिएको छ । अदालतले मुख्य आरोपी ठहरिएका मृतकका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाएको छ ।
जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी एवं श्रेस्तेदार भरतमणि पोखरेलका अनुसार न्यायाधीश तीर्थराज केसीको इजलासले व्यक्ति बेपत्ता तथा ज्यानसम्बन्धी कसुर मुद्दामा फैसला सुनाउँदै १० जनालाई सफाइ दिएको हो ।



अदालतबाट सफाइ पाउनेमा कामेश्वर पाण्डे, अञ्जुकुमारी चौधरी, मोहम्मद अदम राइन, किशोरी मण्डल, विनोद मण्डल, नथुनी मण्डल, प्रिया ठाकुर, रामसखी देवी, पतिराम ठाकुर र भोगी महतो रहेका छन् ।
यस्तै, आरोपी उत्तम खत्वे र दुखी महतो नुनियाको हकमा मुद्दा मुल्तवी गरिएको अदालतले जनाएको छ ।
अदालतले मृतक सुजिता ठाकुरका देवर रुपेश ठाकुरलाई जन्मकैदको सजाय सुनाउँदै हकवालालाई क्षतिपूर्तिवापत ५० हजार रुपियाँ उपलब्ध गराउन तथा पीडित राहत कोषमा दुई हजार ८०० रुपियाँ जम्मा गर्न आदेश दिएको छ ।
लोहारपट्टी नगरपालिका–७ भ्रमरपूरा गाउँ निवासी मुकेश ठाकुरकी पत्नी २६ वर्षीया सुजिता ठाकुर २०७८ जेठ २० गते रातिदेखि बेपत्ता भएकी थिइन् । अनुसन्धानका क्रममा देवर रुपेश ठाकुरसहितका व्यक्तिले हत्या गरी शव लुकाएको खुलेको थियो ।
प्रहरीका अनुसार हत्या पछि शव सुरुमा घरको फ्रिजमा राखिएको, त्यसपछि गाउँ नजिकैको मनरहिया वन क्षेत्रमा गाडिएको र पछि पुनः निकालेर पेट्रोल पम्पको सेफ्टी ट्याङ्कीमा राखेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो ।
घटनाले त्यसबेला देशव्यापी चर्चा पाएको थियो।




