महोत्तरी – देशकै जेठो तथा ऐतिहासिक गुरुकुलका रूपमा परिचित महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (मटिहानी गुरुकुल) लाई पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूको सहयोग बढ्दै गएको छ ।
तीन सय आठ वर्षको इतिहास बोकेको यस गुरुकुललाई पछिल्लो पटक पूर्व वटुक विष्णु पराजुलीले करिब ५० हजार रुपियाँ बराबरको गुरुकुलको लोगो अंकित पहेँलो भेस्ट प्रदान गर्नुभएको छ । गुरुकुलप्रतिको अपनत्व र जिम्मेवारीबोधका साथ उहाँले उक्त सहयोग गर्नुभएको गुरुकुलले जनाएको छ ।




गुरुकुलका गोठालो तथा प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलका अनुसार हाल यहाँ देशका विभिन्न जिल्लादेखि मधेश प्रदेश तथा सीमावर्ती भारतीय क्षेत्रका विपन्न परिवारका बालबालिका अध्ययनरत छन् । दैलेखको दुल्लुदेखि ताप्लेजुङसम्मका विद्यार्थीले गुरुकुलमा संस्कृत शिक्षा हासिल गरिरहेका छन् ।उहाँका अनुसार गुरुकुलले समावेशी अवधारणाअनुसार दलित, जनजाति, पिछडिएका वर्ग तथा अनाथ बालबालिकालाई समेत अध्ययनको अवसर उपलब्ध गराउँदै आएको छ । तर, बढ्दो विद्यार्थी सङ्ख्या र सीमित स्रोतसाधनका कारण संस्थाले विभिन्न चुनौती सामना गरिरहेको छ ।

गर्मी मौसममा बिग्रिएका पङ्खाको मर्मत, पर्याप्त खाट तथा डेस्क–बेञ्चको अभाव, मासिक २० हजार रुपियाँभन्दा बढी विद्युत् महसुल र विद्यार्थीका लागि एकरूप पोशाक व्यवस्थापनजस्ता विषय गुरुकुलका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।
यस्तो अवस्थामा पूर्व वटुक पराजुलीको सहयोगले गुरुकुललाई राहत पुगेको व्यवस्थापन पक्षको भनाइ छ ।
चार वर्षसम्म गुरुकुलमा अध्ययन गर्नुभएका उहाँले संस्थाको आवश्यकता बुझेर लोगो अंकित भेस्ट सहयोग गर्नुभएको हो ।ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१० कटुन्जेका निवासी पराजुली १३ वर्षको उमेरमा मटिहानी गुरुकुल आउनुभएको थियो । वि.सं. २०५३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा एम.ए. तथा एमफिलसम्मको अध्ययन पूरा गर्नुभएको छ ।

हाल काठमाडौँमा बसोबास गर्दै आउनुभएका पराजुली राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ । उहाँ विनायक सिद्ध कलेजका संस्थापक निर्देशक तथा प्रोग्रेसिभ सेकेन्डरी स्कुलका प्रधानाध्यापकका रूपमा समेत कार्यरत हुनुहुन्छ ।
गुरुकुल व्यवस्थापनका अनुसार यहाँ अध्ययन गरेका अधिकांश पूर्व वटुक विभिन्न क्षेत्रमा स्थापित छन् । आफूले शिक्षा हासिल गरेको संस्थाप्रति उनीहरूले निरन्तर सहयोग र सद्भाव प्रकट गर्दै आएका छन् । पराजुलीको सहयोगले वटुकहरूको शैक्षिक वातावरण थप व्यवस्थित हुनुका साथै संस्थाप्रतिको अपनत्व भावना बलियो बनेको गुरुकुलले जनाएको छ ।
तीन शताब्दीभन्दा लामो इतिहास बोकेको मटिहानी गुरुकुल ज्ञान, संस्कार र परम्पराको धरोहरका रूपमा स्थापित छ । सीमित स्रोतसाधनका बीच पूर्व विद्यार्थी र शुभेच्छुकहरूको सहयोगले गुरुकुलको भविष्यप्रति आशा जगाएको छ ।






