महोत्तरी – सवारी ज्यान मुद्दामा फरार रहेका एक चालकलाई प्रहरीले दुर्घटनामा प्रयोग भएको बससहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार वैशाख २८ गते राति करिब १०:३० बजे गौशाला नगरपालिका–३ बागवानीस्थित गौशाला–औरही सडकखण्डमा विपरीत दिशाबाट आएको बसले बीआर ३० यू ४४९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।



दुर्घटनामा मोटरसाइकल चालक सुभेश कुमार यादव गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।दुर्घटनापछि बस र चालक फरार रहेकाले प्रहरीले घटनामा संलग्न सवारी साधन र चालकको खोजी थालेको थियो। अनुसन्धानका क्रममा बा ४ ख १५२६ नम्बरको बस धनुषाको मिथिला नगरपालिका–५ स्थित जय बाबा विश्वकर्मा इन्जिनियरिङ वर्कशप (ग्यारेज) परिसरमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस चालक महोत्तरीको भंगहा नगरपालिका–३ निवासी ३१ वर्षीय राजिव चमारलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा जेठ २१ गते पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले पक्राउ परेका चालकविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी चालकलाई इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





