जनकपुरधाम । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल निर्माणका लागि मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा रकम विनियोजन नगरिएको भन्दै स्थानीयवासीले प्रदेशसभा परिसरअगाडि विरोध प्रदर्शन गरेका छन् ।
हुलाकी राजमार्गअन्तर्गत पर्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै संघर्षरत स्थानीयहरू शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेशसभाअगाडि भेला भई टायर बालेर प्रदर्शनमा उत्रिएका हुन् ।



प्रदर्शनकारीहरूले ‘झुटा आश्वासन बन्द गर’, ‘मनोमानी निर्णय स्वीकार्य छैन’ तथा ‘नयाँ कमला पुल तत्काल निर्माण गर’ जस्ता नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले प्रदेश सरकारका नेतृत्वमाथि समेत असन्तुष्टि व्यक्त गर्दै मुख्यमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधार विकास मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।
स्थानीयहरूको भनाइमा कमला पुल क्षेत्रका नागरिक वर्षौंदेखि सुरक्षित र व्यवस्थित पुलको प्रतीक्षामा छन् । तर, संघीय तथा प्रदेश दुवै सरकारले बजेटमा उक्त योजनालाई प्राथमिकता नदिँदा जनताको अपेक्षामाथि कुठाराघात भएको उनीहरूको आरोप छ ।
यसअघि पनि कमला पुल निर्माण संघर्ष समितिले संघीय सरकारले प्रस्तुत गरेको बजेटमा समेत पुल निर्माणका लागि रकम नछुट्याएको भन्दै प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेको थियो ।
पटकपटक माग उठाउँदा पनि सुनुवाइ नभएको भन्दै स्थानीयले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।





