सुजाता राई
मोरङ । बेलबारी साहित्य विकास समितिको साहित्यिक स्मारिका ‘सिंहावलोकन’ सार्वजनिक भएको छ ।



बेलबारी नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा साहित्यिक, शैक्षिक तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थितिमा उक्त स्मारिकाको लोकार्पण गरिएको हो ।
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकार हर्कमान तामाङ, संस्कृतिकर्मी तथा स्रष्टा मधु गुरुङ, सुन्दरहरैँचा कला साहित्य समितिका अध्यक्ष डा. दीपक न्यौपाने, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, आम्लाबुङ कला साहित्य संसारका अध्यक्ष धनजित पराजुली, बेलबारी साहित्य विकास समितिका निवर्तमान अध्यक्ष तिला लेकालीलगायतका विभिन्न साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा साहित्यिक, शैक्षिक तथा सामाजिक क्षेत्रका अगुवाहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा ईरान राई, मधु गुरुङ, डा. दीपक न्यौपाने, भूपेन्द्रप्रसाद कोइराला, प्रतापकुमार थापा, शङ्कर गुरुङ, मनकुमार गुरुङलगायतको शुभकामना मन्तव्य रहेको थियो । बोल्ने सबै वक्ताले कला–साहित्यको प्रवर्द्धन तथा बेलबारीलाई राष्ट्रियस्तरमा परिचित गराउन समितिले पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा अशोक साम्पाङ (विद्रोही कान्छा), श्रीप्रसाद पोख्रेल, विनोद विवश तथा गणेश बाछानाले आफ्ना सिर्जनाहरू वाचन गरेका थिए ।
समितिका उपाध्यक्ष गोविन्द चोङ्बाङको स्वागत मन्तव्य रहेको थियो । रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने शिव सहयात्री र विमला सुवेदीको रहेको थियो ।
उक्त स्मारिकामा संस्थाले विगतदेखि वर्तमानसम्म गरेका गतिविधि, साहित्यिक कार्यक्रम तथा विभिन्न ५६ जना लेखकका रचना समेटिएका छन् ।




