जनकपुरधाम । जनकपुरधाममा जारी रहेको निको कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज सम्पन्न भएको तीन खेलमा लुम्बिनी, एपीएफ र बागमती प्रदेशका महिला टिम विजयी भएको छ ।
मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयुक्त आयोजनामा जनकपुरधामको निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशालामा भएको पहिलो खेलमा कर्णाली प्रदेशलाई लुम्बिनी प्रदेशले ५ विकेटले पराजित गरेको हो ।



पहिलो व्याटिङ्ग गर्दै कर्णाली प्रदेशका महिला क्रिकेट टिमले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८५ रन बनाएका थिए । कर्णालीका तर्फबाट त्रिसना विश्वकर्मा १२ रन, गंगा खड्का १४, अञ्जु गुरुङ १३ रन बनाएका थिए । लुम्बिनीका तर्फबाट मनीषा राना ३, सुस्मिता भुसाल २ र अञ्जु पाठकले १ विकेट लिनु भएको थियो ।

८६ रनको लक्ष्य सहित खेल मैदानमा आएका लुम्बिनी प्रदेशका महिला टिमले १५ ओभरमा ५ विकेटको क्षतिमा ८६ रन बनाउदै ५ विकेटले विजयी भएको थियो । लुम्बिनीका तर्फबाट रञ्जु श्रेष्ठले २३, आसमा पुलामी मगरले २८ रनको महत्वपूर्ण योगदान दिँदै टिमलाई विजयी गराउनु भएको छ । कर्णालीका तर्फबाट गंगा खड्काले २ र त्रिशना विश्वकर्माले १ विकेट लिनु भएको थियो ।
आजै भएको दोस्रो खेलमा गण्डकी प्रदेशलाई सशस्त्र प्रहरीको विभागीय महिला टिमले ७ विकेटले पराजित गर्दै विजयी भएको छ । सुरुमा व्याटिङ्ग गर्दै गण्डकी प्रदेशले २० ओभरको खेलमा ८ विकेटको क्षतिमा ६४ रनमात्र बनाएका थिए । गण्डकीका तर्फबाट रेखा तामाङ्गले १० र सीमा केसीले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन नसकेर ६४ रनमा समेटिएका थिए ।
सशस्त्र प्रहरीका महिला विभागीय टिमका तर्फबाट सवनम राय २, राजमति ऐरी २, सविना जोरी र रेवती धामीले समान १–१ विकेट लिएका थिए । ६५ रनको लक्ष्य सहित व्याटिङ्ग गर्न आएका सशस्त्र प्रहरीका टिमले १३.२ ओभरमा ३ विकेटको क्षतिमा ७० रन बनाउदै विजयी भएका थिए ।
सशस्त्र प्रहरीका तर्फबाट रमा धामी २५, कविता जोशी २० रनको शान्दार पारी खेल्नु भएको थियो । गण्डकीका तर्फबाट यशोदा भुजेर र सीमा केसीले समान १–१ विकेट लिनु भएको थियो । यसै गरि बागमती र सुदूरपश्चिम प्रदेशको बीचमा आजै भएको तेस्रो खेलमा बागमती प्रदेशले ६ रनले विजयी भएको छ । बागमतीले बनाएको ९५ रनको लक्ष्य सुदूरपश्चिमले भेटाउन नसकेर १९.३ ओभरमा अल आउट हुँदै ८९ रन मात्र बनाउन सकेका थिए ।




