जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले सडक सुरक्षा अभिवृद्धिका लागि ट्राफिक नियमको अनिवार्य पालना गर्न सबै सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ।
बुधबार जारी गरिएको जनचेतनामूलक सूचनामार्फत कार्यालयले विशेषगरी मोटरसाइकल चालकलाई हेल्मेट अनिवार्य रूपमा प्रयोग गर्न तथा मोटरसाइकलमा दुई जनाभन्दा बढी सवार नगर्न आग्रह गरेको हो।



ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित यात्राको वातावरण सुनिश्चित गर्न ट्राफिक नियमको पूर्ण पालना अपरिहार्य रहेको उल्लेख गर्दै लापरवाही नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घनका कारण सडक दुर्घटनाको जोखिम बढ्दै जाने भएकाले सबै सवारी चालकले जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्न आवश्यक छ।
सडक सुरक्षाप्रति नागरिकलाई थप सचेत बनाउन यस्ता जनचेतनामूलक अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ।




