जनकपुरधाम । मधेशका भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि सरोकारवाला निकायले विशेष प्राथमिकताका साथ प्रभावकारी ढङ्गले काम गर्नुपर्नेमा वक्ताहरूले जोड दिएका छन् ।
मधेश प्रज्ञा प्रतिष्ठानको स्थापना दिवसका अवसरमा शनिबार धनुषाको कल्चर भिलेजमा आयोजित विभिन्न विधामा अन्तरक्रिया, नवप्रतिभा खोजी र सम्मा सम्मान कार्यक्रमका वक्ताहरूले मधेशको मौलिक भाषा, संस्कृति र पहिचान जोगाउन पर्याप्त बजेट, संस्थागत सुदृढीकरण तथा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका हुन् ।



कार्यक्रमका प्रमुख अतिथि तथा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले मधेशको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्नु प्रदेश सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो । उहाँले संघीयताको पक्षधर मधेशमा भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा प्रदेशका आठवटै जिल्लामा देखिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री सिंहले मधेश प्रदेशमा १३६ स्थानीय तह रहे पनि शिक्षा तथा संस्कृति मन्त्रालयको बजेट दुईवटा पालिकाको बजेट बराबरसमेत नरहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम सदुपयोग गरी भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो ।
यस्तै प्रतिष्ठानका सदस्य दिनेशप्रसाद यादवले सीमित स्रोत–साधनका बाबजुद प्रतिष्ठानले भाषा–साहित्यका क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै यसलाई अझ सक्रिय, गतिशील र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
यसैगरी अन्तर्राष्ट्रिय मगही भाषा परिषद्का अध्यक्ष तथा गोरखापत्रका मगही भाषा संयोजक डा। वीरबहादुर महतोले प्रतिष्ठानअन्तर्गत मधेशका सबै भाषा, साहित्य र संस्कृतिको समान रूपमा संरक्षण र प्रवद्र्धन हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आफ्नो विचार राख्दै पर्साबाट सहभागी भोजपुरी भाषाकी सलमा खातुनले मधेशका भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि सम्पूर्ण प्रदेशवासी एकजुट हुनुपर्ने बताउनुभयो । सर्लाहीका सुमन घिमिरेले पहिचानको आन्दोलनबाट स्थापित मधेश प्रज्ञा प्रतिष्ठानलाई उद्देश्यअनुरूप काम गर्न आवश्यक बजेट विनियोजन गरी संस्थागत रूपमा सुदृढ बनाउन प्रदेश सरकारसँग आग्रह समेत गर्नुभएको थियो ।
धनुषाका साहित्यकार नित्यानन्द मण्डलले विभिन्न विधाका कलाकार तथा स्रष्टाको योगदानको उचित मूल्याङ्कन हुन नसकेको उल्लेख गर्दै उनीहरूको सम्मान र संरक्षणमा राज्यले थप ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो भने सिरहाका शिवकुमार साहले प्रतिष्ठान बौद्धिक समुदायको साझा संस्था भएकाले यसको सुदृढीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागी मधेशका आठवटै जिल्लाका विभिन्न विधाका कलाकारहरुले भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणलाई साझा अभियानका रूपमा अघि बढाउन सबै पक्षले सहकार्य गर्नुपर्नेमा एकमत व्यक्त गरेका थिए ।




