विजयकुमार साह
ढल्केबर । मधेस प्रदेशका अधिकांश स्थानका किसान धान रोप्न वर्षाको प्रतीक्षा गरिरहेका बेला धनुषा र सिरहामा कमला नहरबाट सिँचाइ सुविधा पुगेको क्षेत्रका किसान भने धमाधम धान रोपाइँमा जुटेका छन् । धनुषाको पोर्ताहामा रहेको कमला सिँचाइ व्यवस्थापन कार्यालयले कमला सिँचाइ नहरमा पानी प्रवाह गरेपछि त्यस क्षेत्रका किसान धान रोपाइँमा जुटेका हुन् ।



कमला सिँचाइ व्यवस्थापन कार्यालयले असार १३ गतेदेखि नै धनुषातर्फको पश्चिमी नहर र सिरहातर्फको पूर्वी नहरमा सिँचाइका लागि पानी प्रवाह गर्दै आएको छ । कमला सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख रणधीरकुमार साहले विगतमा प्रत्येक वर्ष साउन १ गतेदेखि मात्र नहर सञ्चालन गर्ने गरिएको भए पनि किसानको आवश्यकतालाई ध्यानमा राख्दै समयअगावै नहरमा पानी प्रवाह गरिएको बताउनुभयो ।
उहाँका अनुसार धनुषाको पश्चिमी नहरबाट १२ हजार पाँच सय हेक्टर र सिरहाको पूर्वी नहरबाट १२ हजार पाँच सय हेक्टर गरी २५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । पछिल्ला वर्षमा साना पैनी र सहायक नहरको विस्तारपछि अहिले करिब ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उहाँले जानकारी दिनुभयो ।
धनुषातर्फ पश्चिमी नहर प्रणालीमार्फत गणेशमान चारनाथ, सबैला, सहिदनगर, विदेह, कमला, हँसपुर, औरही र जनकनन्दनी गरी आठ स्थानीय तहमा सिँचाइ सुविधा पुगेको छ । यस्तै सिरहातर्फ पूर्वी नहर प्रणालीमार्फत कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र औरही गरी आठ स्थानीय तहमा सिँचाइ सुविधा उपलब्ध रहेको छ । आयोजनाअन्तर्गत दुवै जिल्लामा मुख्य तथा सहायक नहर गरी पाँच सय किलोमिटरमा नहर सञ्जाल विस्तार रहेको कार्यालय प्रमुख साहको भनाइ छ ।
कार्यालय प्रमुख साहले दुवै मुख्य नहरमा समान रूपमा प्रतिसेकेन्ड १४ हजार लिटरका दरले पानी प्रवाह भइरहेको बताउनुभयो । उहाँले यसका साथै यसै कार्यालयमातहत रहेको हर्दिनाथ सिँचाइ योजनाबाट दुई हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको जानकारी दिनुभयो । उहाँले सिँचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन किसानको सहभागितामा थुप्रै स्थानमा जल उपभोक्ता समितिसमेत गठन गरिएको बताउनुभयो ।

नेपालका ठूला सिँचाइ आयोजनामध्ये एक मानिने कमला सिँचाइ आयोजनाको शिलान्यास वि.सं. २०१७ कात्तिक २६ गते तत्कालीन सिँचाइमन्त्री गणेशमान सिंहले गर्नुभएको थियो । आयोजनाले वि.सं. २०४० देखि नियमित रूपमा सिँचाइ सेवा प्रदान गर्न थालेको हो ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियाका किसान रामपुकार यादवले कमला नहर प्रणालीमार्फत सिँचाइ सुविधा पुगेको क्षेत्रमा धमाधम धान रोपाइँ भइरहेको बताउनुभयो । उहाँले नहरमा पानी प्रवाह भएपछि धानखेतीका लागि समस्या नहुने जानकारी दिनुभयो ।
किसान यादवले अघिल्लो वर्षजस्तै यस वर्ष पनि पर्याप्त वर्षा नभए पनि खेतसम्म सिँचाइ सुविधा पुगेकाले धान रोप्न थालेको सुनाउनुभयो । उहाँका अनुसार कमला नहर पुगेका क्षेत्रमा किसानले धमाधम रोपाइँ गरिरहेका छन् । नहर नपुगेका स्थानमा भने डिप ट्युबवेल, इनारमा विद्युतीय मोटरको सहयोगमा सिँचाइ गरेर रोपाइँ भइरहेको छ । सिँचाइको कुनै व्यवस्था नभएका किसान भने अझै आकाशे पानीको प्रतीक्षामा छन् ।
सोही क्षेत्रका किसान बलि शर्माले विगतका वर्षमा नहरमा ढिलो पानी आउने गरे पनि यस पटक समयमै पानी प्रवाह भएकाले धान रोप्न सहज भएको बताउनुभयो । उहाँले नहर आसपासका अधिकांश खेतमा अहिले सिँचाइको समस्या नरहेको जानकारी दिनुभयो ।
कृषि विकास निर्देशनालय मधेस प्रदेशले सार्वजनिक गरेको तथ्याङ्कअनुसार असार १९ गतेसम्म धनुषामा ४३ हजार सात सय हेक्टर धान खेतीयोग्य जमिनमध्ये छ हजार पाँच सय ५५ हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।
त्यस्तै समग्र प्रदेशका आठवटै जिल्लामा तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये ५९ हजार ८९५ दशमलव ०६ हेक्टरमा धान रोपाइँ भएको छ । कुल धान खेतीयोग्य जमिनमध्ये १४ दशमलव ७३ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको हो ।




