सर्मिला घिमिरे
जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली स्वाधीनताको रक्षा तथा देशको हितका लागि मधेशमा कम्युनिष्ट पार्टी बलियो हुनुपर्ने धारणासहित पार्टी अगाडी बढेको बताएका छन् ।
पार्टीको मधेश प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले नेपालको राष्ट्रियताको रक्षा गर्नका लागि कम्युनिष्ट पार्टीहरू एकताबद्ध हुनुको कुनै विकल्प नभएकोले कम्युनिष्टहरुबीच एकता प्रक्रिया अझै अघि बढिरहेको जनाए। उनले मधेसमा बलियो पार्टी बनाउन सकिएमा समग्र देश र कम्युनिस्ट आन्दोलनका लागि ठूलो योगदान पुग्ने, अन्यथा ठूलो दुर्घटना व्यहोर्नुपर्ने खतरा रहेको समेत बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले मधेश प्रदेश राजनीतिक तथा जनसङ्ख्याको दृष्टिकोणले महत्वपूर्ण भएकाले मधेशलाई पार्टीले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले मधेस प्रदेशलाई देशको मेरुदण्डको संज्ञा दिँदै मधेसको समुचित विकासले कृषि, उद्योग तथा समग्र राष्ट्रिय अर्थतन्त्रलाई गति दिने बताए। उनले मधेसको विकासलाई तीव्र बनाउन भारत सरकारसँग यसअघि नै गम्भीर छलफल भएको जानकारी दिए।
मधेसमा भूमिगत पानीको सतह घट्दै गएको विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले कोशीबाट चुरेको फेदी हुँदै नहर प्रणाली विकास गर्न सके भू–जलको सतह वृद्धि हुनुका साथै तराईलाई मरुभूमीकरणबाट जोगाउन सकिने बताए। यस विषयमा विज्ञहरूसँग अध्ययन तथा छलफल भइरहेको उनको भनाइ थियो।
उनले मरिण डाइभर्सन आयोजना शीघ्र सम्पन्न गर्न चीन सरकारसँग छलफल भएको तथा काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) समयमै निर्माण सम्पन्न गर्न नेपाली सेनालाई जिम्मेवारी दिने निर्णय आफ्नो नेतृत्वमा भएको स्मरण गराए। चुरे संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले त्यसतर्फ पार्टीको निरन्तर ध्यान रहेको बताए।
देश अहिले चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै प्रचण्डले सबैलाई संयमित रहन आग्रह गरे। सामाजिक सञ्जालमार्फत फैलाइने भ्रमबाट सचेत रहँदै तथ्य र यथार्थका आधारमा निर्णय गर्नुपर्नेमा उनले जोड दिए।
उनले मिटरब्याजी, सुकुम्बासीलगायतका समस्या समाधानमा प्रभावकारी पहल हुन नसकेको टिप्पणी गर्दै दीर्घकालीन सोचबिनाका निर्णयले जनताको समस्या झन् जटिल बन्दै गएको बताए।
उनले शान्ति सम्झौतापछि १२ बुँदे समझदारी गरेका पक्षहरू एकताबद्ध भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए ।
त्यसै कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताए। देशमा भइरहेका विसंगतिपूर्ण निर्णयप्रति खबरदारी गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले नेपाल कम्युनिस्ट पार्टीलाई वैचारिक रूपमा गौरवशाली पार्टीको संज्ञा दिए।
पार्टीका अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुख तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले विगतका कमजोरीबाट शिक्षा लिएर एकताबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। पार्टीलाई अझ सुदृढ बनाउन आत्मसमीक्षा र जिम्मेवार नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।
पार्टीका मधेश प्रदेश इन्चार्ज महेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा नारायणकाजी श्रेष्ठ, मातृका प्रसाद यादव सहभागी छन् । प्रशिक्षणमा केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरु सहभागी रहेका छन्।








