महोत्तरी – महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिन्डामा साइकलको ठक्करबाट घाइते भएका एक बालकलाई मृत ठानेर पोखरीमा फालेको आरोपमा प्रहरीले १५ वर्षीया एक किशोरीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत जेठ २२ गते मल बोकेको साइकल लिएर खेततर्फ जाँदै गरेकी किशोरीले सोही स्थानका मनिकेश कुमार यादवलाई ठक्कर दिएकी थिइन्। ठक्करबाट बालक अचेत भएपछि उनको मृत्यु भएको ठानेर किशोरीले बोरामा राखी नजिकैको पोखरीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।



घटनापछि पोखरीमा बालकको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा संकलित प्रमाण तथा शंकाका आधारमा किशोरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा घटनाको वास्तविकता खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पञ्चलाल गोलेले जानकारी दिनुभयो।
प्रहरीका अनुसार पोखरीमा फाल्नुअघि बालकले लगाएको चाँदीको बाला पनि किशोरीले निकालेकी थिइन्। अनुसन्धानका क्रममा उक्त चाँदीको बाला किशोरीको साथबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले किशोरीलाई असार ५ गते घरबाट नियन्त्रणमा लिएको थियो। महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।घटनाका अन्य पक्षबारे समेत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





