जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–ढल्केबरमा निर्माण हुने भनिएको क्रिटिकल केयर तथा ट्रमा सेन्टरसहितको अस्पताल भवन अन्यत्र सार्ने तयारी भएको आशंकाप्रति स्थानीयवासी, जनप्रतिनिधि तथा सरोकारवालाले विरोध जनाएका छन्।
संघर्ष समितिको निर्णयअनुसार बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले ढल्केबरका लागि स्वीकृत ट्रमा सेन्टर यथास्थानमै निर्माण गर्न माग गरेका हुन्।
ज्ञापनपत्रमा नेपाल सरकारको आर्थिक वर्ष २०७६÷०७७, २०७७÷०७८ र २०७८÷०७९ को बजेट वक्तव्यमा प्रमुख राजमार्गमा ट्रमा सेवा विस्तार गर्ने तथा ढल्केबरमा ट्रमा सेन्टर स्थापना गर्ने घोषणा गरिएको उल्लेख छ। त्यसअनुसार आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ मा क्रमशः २०÷२० करोड रुपैयाँ बजेट विनियोजन भइसकेको, माटो परीक्षण (सोइल टेस्ट) र टोपोग्राफिकल सर्वेक्षणलगायत प्रारम्भिक कार्य सम्पन्न भइसकेको दाबी गरिएको छ।
ज्ञापनपत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जग्गासम्बन्धी सहमति प्राप्त भइसकेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको २०८३ जेठ ५ गतेको निर्णयअनुसार अस्पताल निर्माणका लागि जग्गा उपभोग स्वीकृत भई २०८३ जेठ २६ गते भूमि प्रशासन कार्यालय ढल्केबरबाट उपयोगको प्रमाणपत्रसमेत प्राप्त भएको उल्लेख गरिएको छ।



संघर्ष समितिका अनुसार प्रतिनिधिसभाको २०८३ साउन १९ गतेको बैठकमा स्वास्थ्यमन्त्रीले मधेश प्रदेशको लाहानमा ट्रमा सेन्टर अस्पताल भवन निर्माण गर्ने अभिव्यक्ति दिएपछि ढल्केबरका लागि स्वीकृत आयोजना अन्यत्र सारिने आशंका उत्पन्न भएको हो।
स्थानीयवासीले ढल्केबर मधेश प्रदेशको मध्यविन्दु तथा पूर्व–पश्चिम राजमार्गको अत्यधिक सवारी चाप भएको मुख्य केन्द्र रहेकाले यहाँ दुर्घटनाको जोखिम उच्च रहेको बताएका छन्। उनीहरूले पूर्वनिर्धारित स्थानमै क्रिटिकल केयर तथा ट्रमा सेन्टरसहितको अस्पताल भवन निर्माण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।





