विभेद, हिंसा र सामाजिक अन्यायमा परेका समुदायको पक्षमा लामो समयदेखि आवाज उठाउँदै आएका सप्तरीका मानव अधिकारकर्मी राजु पासवान सम्मानित भएका छन्।
शम्भुनाथ नगरपालिका–१, कचन्दाहाका पासवानलाई ३४औँ प्रकाश स्मृति दिवसका अवसरमा बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–०८३ प्रदान गरिएको हो। सोमबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा उनलाई ११ हजार ५ सय रुपैयाँ नगद, सम्मानपत्र र दोसल्लासहित सम्मान गरियो।



मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा पासवानले पुर्याउँदै आएको योगदानलाई मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। इन्सेक मधेश प्रदेशका संयोजकसमेत रहेका पासवान दुई दशकभन्दा लामो समयदेखि मानव अधिकार संरक्षण र समुदाय सशक्तीकरणका अभियानमा सक्रिय छन्।

विशेषगरी विभेद तथा हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार तथा पुनःस्थापना, कानुनी पैरवी र सामाजिक न्यायका सवालमा पासवानले निरन्तर काम गर्दै आएका छन्।
पुरस्कार प्रदान गर्ने निर्णय बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले गरेको थियो।
इन्सेकद्वारा ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’बाट सम्मानित प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले पुरस्कारबापत प्राप्त ५० हजार रुपैयाँबाट उक्त कोष स्थापना गरेका थिए। कोषले २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गर्दै आएको छ।
कार्यक्रममा मधेश प्रदेश सभाका सभामुख राम आशिष यादव प्रमुख अतिथि तथा उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल विशिष्ट अतिथि थिए।




