जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राष्ट्रपति पौडेलले शुक्रबार शोक वक्तव्य जारी गर्दै लामो समय प्राध्यापनमा सक्रिय रही भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा डा. विमलले पुर्याएको योगदान नेपाली समाजका लागि अमूल्य रहेको उल्लेख गरेका छन् ।



डा. विमलका दुई दर्जनभन्दा बढी कृति प्रकाशित रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले उनका सिर्जनामा नेपाली र मैथिली समाजको सामाजिक, सांस्कृतिक तथा भाषिक परिवेश स्पष्ट रूपमा प्रतिबिम्बित भएको बताएका छन् ।
बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित डा. विमलले साहित्यका अतिरिक्त चलचित्र, टेलिशृङ्खला र नाटकजस्ता कला क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएको राष्ट्रपति पौडेलको भनाइ छ ।
उनले नेपाली, मैथिली र अंग्रेजी भाषामा साहित्यका विभिन्न विधामा कलम चलाएका थिए ।
साहित्य सिर्जनासँगै अध्यापन र भाषा अनुसन्धानमा डा. विमलले पुर्याएको योगदान सधैं स्मरणीय रहने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।
उनको निधनले नेपाली भाषा, साहित्य तथा संस्कृतिका क्षेत्रमा अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले बताएका छन् ।
राष्ट्रपति पौडेलले दिवंगत डा. विमलको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।





