जीवनराज दाहाल (बर्दिबास) – तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज शनिबार महोत्तरीको बर्दिबासमा प्रदर्शन गरिएको छ ।
बर्दिबासको भोला वसन्त चोकदेखि सिन्धुली रोडसम्म र्याली गरिएको थियो । र्यालीमा स्थानीय, युवा तथा नागरिकहरूले गरिमाका लागि न्याय माग्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा सहभागीहरूले दिवंगत गरिमा चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरेका थिए ।




सहभागीहरूले ‘गरिमालाई न्याय दे’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘बालबालिकाको सुरक्षा सुनिश्चित गर’ लगायतका नारा लगाउँदै घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा सजाय दिन माग गरेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरी घरबाट हराएको केही दिनपछि मृत अवस्थामा फेला परेकी थिइन् । घटनामा बलात्कारपछि हत्या भएको खुलेसँगै दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको माग गर्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन हुँदै आएको छ ।
बर्दिबासका प्रदर्शनकारीहरूले यस्ता घटना दोहोरिन नदिन बालबालिकाको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न समेत सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।




