काठमाडौं – जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा बाढीको बहाव बढेको आवाज सुनिएको भन्ने सूचना प्राप्त भएको छ ।
सूचनाको थप पुष्टि तथा वास्तविक अवस्था यकिन गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै हाललाई रसुवा, नुवाकोट र धादिङका नदी तथा खोला आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।



बाढीको बहाव गल्छी क्षेत्रमा समेत आइपुगेको सूचना प्राप्त भएको मुग्लिन प्रहरीको भनाइ छ । रसुवामा फेरि बाढी आएको सूचना प्राप्त भएपछि काठमाडौंबाट बाहिरिने गाडीहरुलाई रोकिएको छ ।
नदीको जलसतह बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा रहन र अनावश्यक रूपमा नदी तथा खोला किनारतर्फ नजान आग्रह गरिएको छ ।
बाढीसम्बन्धी प्राप्त सूचनाको आधिकारिक पुष्टि हुन बाँकी रहेकाले हल्लाको पछि नलागी आधिकारिक सूचनामा ध्यान दिन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।




