महोत्तरी – विभिन्न आपराधिक कसुरसम्बन्धी मुद्दामा फरार रहेका महोत्तरीको गौशाला नगरपालिका–१ का ३७ वर्षीय सुरेश कुमार महतो ‘रोशन’लाई प्रहरीले पक्राउ गरेको छ ।
गौशाला नगरपालिका–१ रामनगर निवासी सुरेशलाई विशेष सूचनाका आधारमा खोजतलास गर्ने क्रममा शनिबार साँझ करिब ७ बजे गौशाला नगरपालिका–१ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।



प्रहरीका अनुसार उनीविरुद्ध धनुषा जिल्ला अदालतमा ठगी, लिखत किर्ते, नागरिकतासम्बन्धी कसुर, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअन्तर्गतको कसुर, सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा रहेका छन् ।
पक्राउ परेका महतोलाई हाल इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ । आवश्यक प्रारम्भिक प्रक्रिया पूरा गरी थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मधुसुदन विश्वकर्माले जानकारी दिनुभयो ।




