महोत्तरी – खाजा खाने खर्चबाट रकम बचाएर महोत्तरीको औरही नगरपालिका–१ का बालबालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित परिवारका लागि सहयोग गरेका छन् ।
औरही नगरपालिका–१, औरहीस्थित चिल्ड्रेन ग्लोरी पब्लिक एकेडेमीमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्चबाट बचत गरेको रु. १३ हजार ८०० बाढीपीडितका लागि सहयोग गरेका हुन् ।




विद्यार्थी,शिक्षा,शिक्षािका बिधालयका कर्मचारीहरु सहितले गरेको सहयोगसहित विद्यालयले रु. ५५ हजार ८५५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको विद्यालयका सञ्चालक कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो । उक्त रकममध्ये विद्यार्थीबाट संकलित रकम कटाएर बाँकी रकम विद्यालयले उपलब्ध गराएको प्रधानाध्यापक रविन्द्र यादवले बताउनुभयो ।
विपद्का बेला दुःखमा परेका व्यक्तिलाई सहयोग गर्नुपर्छ भन्ने मानवीय भावना बालबालिकामा विकास गराउने उद्देश्यले उनीहरूलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न प्रेरित गरिएको सञ्चालक गौतमले बताउनुभयो ।

सानै उमेरदेखि बालबालिकामा सहयोग, सहकार्य र मानवीय सेवाको भावना विकास गर्न सके भविष्यमा सामाजिक उत्तरदायित्व बहन गर्ने संस्कारको विकास हुने विद्यालयको भनाइ छ ।
विद्यालयले बालबालिकालाई पढाइसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका गतिविधिमा सहभागी गराउँदै आएको जनाएको छ ।




