धनुषा । प्रहरीले धनुषाको नगराइन नगरपालिका–५ स्थित झाडीमा लुकाएर राखिएको ठूलो परिमाणको अवैध लागूऔषध गाँजा बरामद गरेको छ।
खिरखिरिया जाने भित्री सडकको छेउमा रहेको झाडीबाट प्रहरीले १०७ किलो ९९८ ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



बुधबार राति करिब २ः३० बजे उक्त क्षेत्रमा गाँजा लुकाएर राखिएको गोप्य सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लग्माजटहीबाट प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले घटनास्थलमा खोजतलास गर्दा प्लास्टिकमा बेरिएका नौ वटा पोका गाँजा फेला पारेको थियो ।
बरामद गाँजालाई इलाका प्रहरी कार्यालय लग्माजटहीमा ल्याएर तौल गर्दा प्लास्टिकसहित १०९ किलो रहेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याई प्लास्टिक हटाएर पुनः तौल गर्दा गाँजाको वास्तविक तौल १०७ किलो ९९८ ग्राम रहेको प्रहरीले जनाएको छ ।
बरामद गाँजा जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । गाँजा कसले र कहाँबाट ल्याएको तथा कसका लागि लुकाएर राखिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अवैध लागूऔषधको ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।




