धनुषा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि धनुषा र महोत्तरीका विभिन्न संस्था तथा स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३४ लाख २९ हजार १०९ रुपैयाँ सहयोग गरेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिकाले मात्रै २९ लाख ७८ हजार १०९ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका तथा विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी, विपद् व्यवस्थापन कोष तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीबाट उक्त रकम सङ्कलन गरिएको हो ।



नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ, नगरप्रमुख राजेन्द्रप्रसाद यादवको तर्फबाट २४ हजार ५०० रुपैयाँ, उपप्रमुखको तर्फबाट १९ हजार रुपैयाँ, वडा सदस्यबाट एक लाख दुई हजार रुपैयाँ, कार्यपालिका सदस्यबाट एक लाख ३८ हजार रुपैयाँ र नगरपालिकाका कर्मचारीबाट सात लाख ९१ हजार १२४ रुपैयाँ सङ्कलन भएको छ ।
त्यस्तै, नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबाट नौ लाख तीन हजार ४८५ रुपैयाँ सहयोग जुटाइएको जनाइएको छ । विभिन्न शीर्षकबाट सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरपालिकाले जनाएको छ ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि मिथिला बिहारी नगरपालिकाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको नगरपालिकाले जनाएको छ ।
यसैगरी, जनकपुरधामस्थित सिद्धार्थ शिशु सदन स्कुलले पनि बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयका प्रिन्सिपल राजु यादवले सहयोग रकम जम्मा गरेको भौचर तथा सम्बन्धित पत्र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेललाई हस्तान्तरण गर्नुभएको छ । बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ ।
विद्यालयले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सामाजिक दायित्व भएको उल्लेख गर्दै राहत तथा पुनःस्थापनाका लागि सरकारी, गैरसरकारी संस्था, निजी क्षेत्र तथा सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेको जनाएको छ ।
उता, महोत्तरीको रतौली युवा क्लबका कर्मचारीले पनि भोटेकोशी बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि एक लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।
क्लबमा कार्यरत कर्मचारीले स्वेच्छिक रूपमा रकम सङ्कलन गरी कोषमा जम्मा गरेका हुन् । क्लबका अध्यक्ष साकिर खानका अनुसार विपद्का कारण प्रभावित व्यक्ति तथा परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कर्मचारीबाट रकम सङ्कलन गरिएको हो ।
क्लबले सहयोग रकम जम्मा गरिएको प्रमाण तथा सहयोग गर्ने कर्मचारीको विवरणसमेत जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई उपलब्ध गराएको जनाएको छ ।
भोटेकोशी क्षेत्रमा भएको बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएपछि देशका विभिन्न भागबाट प्रभावित नागरिकका लागि राहत तथा पुनःस्थापनाको अभियान सञ्चालन भइरहेको छ । यस क्रममा स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, निजी क्षेत्र तथा सर्वसाधारणले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने क्रम बढेको छ ।
विपद्का बेला तत्कालीन उद्धारसँगै प्रभावित परिवारको पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि दीर्घकालीन स्रोत आवश्यक पर्ने भएकाले विभिन्न क्षेत्रबाट भइरहेको सहयोगले राहत तथा पुनःस्थापनाको काममा योगदान पुग्ने अपेक्षा गरिएको छ ।




